बाढीपहिरोको चपेटामा थाकखोलाको नूनखानी — OSNepal

बाढीपहिरोको चपेटामा थाकखोलाको नूनखानी

Kesh Karki (USA) September 01, 2021 0

बाढीपहिराका कारण थाकखोलाको नून खानी सङ्कटमा परेको छ । खानी संरक्षणका लागि बनाइएका संरचना बर्सेनि बाढीपहिराको सिकार हुने गरेका कारण मुस्ताङको थाकखोलामा रहेको नूनखानी सङ्कटमा परेको हो ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमामा रहेको नूनखानी संरक्षणका लागि गाउँपालिकाले निर्माण गरेका संरचना बर्सेनि बर्खा याममा बग्ने गरेका छन् । नर्सिङ खोलामा आउने बाढी र वर्षापछि आउने पहिराका कारण नूनखानीको संरक्षणका लागि बनाइएका संरचनामा क्षति पुग्ने गरेको गाउँपालिका अध्यक्ष पेन्चोक छेप्तेन गुरुङले बताउनुभयो । गत वर्ष बनाइएका दुईवटा पोखरी बाढीले बगाएको छ ।

नर्सिङ खोला छेवैमा रहेको पहाडबाट रसाउने पानी नुनिलो आउछ । त्यही पानीलाई छानेर पोखरीमा जम्मा गरेर नर्सिङ खोलाको पानी मिसाएपछि केही दिनमा हिँउजस्तै जम्छ । त्यही जमेको ढिक्कालाई थकाली समुदायले नून बनाउने गरेका थिए । गतवर्ष रु १५ लाख खर्चेर बनेका दुई वटा पोखरीमा यस वर्षको बाढीपहिराले क्षति पु¥याएको गुरुङले बताउनुभयो ।“हामीले कल्भर्ट, पोखरी निर्माण गरेका थियौं, तर बाढीपहिरोले सधैँ क्षति पु¥याउछ”, गुरुङ भन्नुहुन्छ, “नुन खानीको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ ।” गाउँपालिकाले खानीको संरक्षण र प्रयोग गरेर पर्यटन र उत्पादन दुवैको योजना बनाएको थियो । नूनिलो पानी आउने पहाडमा वर्षाको समयमा पहिरो आउने गरेको छ ।

छेवैमा रहेको नर्सिङ खोलाको बाढीले खानी छेउका संरचनामा क्षति पु¥याउने गरेको छ । “यहाँ खानी हेर्न चाहनेलाई पठाउन मात्रै सकेपनि धेरै फाइदा थियो”, अध्यक्ष गुरुङ भन्नुहुन्छ, “अफ्ठ्यारो बाटोका कारणले पनि सोचेको जस्तो पर्यटक पठाउन सकिएको छैन् ।”यहाँको नुन बहुगुणी हुने मान्यता रहेकाले यसको उत्पादनमा गाउँपालिकाले लगानी बढाएको थियो । औषधीय गुण भएको नुन खोज्ने धेरै भए पनि खानीमै रहेको प्राकृतिक समस्याका कारण उत्पादन गर्न नसकेको उहाँले बताउनुभयो । पहाडमा रसाएको पानीमा खोलाको पानी मिसाएपछि मात्रै नुन जम्ने बताउनुहुन्छ्, लामो समय नूनको उत्पादनमा काम गरेका छुसाङका वयोवृद्ध पेमा तोर्चे । त्यही पानी जमाउनका लागि बनाइएका संरचना भत्किएपछि नुन उत्पादन नहुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर