पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध — OSNepal

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

Kesh Karki (USA) September 01, 2021 0

निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले–पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायतका स्थानमा जाने ग्रामीण सडकसमेत अवरूद्व भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।

बिरामीलाई डोको तथा थुन्छेमा बाकेर स्वास्थ्य सस्थामा लेजानुपरेको जनाइएको छ । के–कति किलोमिटर सडक क्षति भयो भन्न एकीन जानकारी भएको छैन ।यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । गत हप्ता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन २४ घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाई भन्सार कार्यालयबाट जाँचपास भएका मालबाहक सवारी सहजरूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण गर्दै आएको छ ।

स्याउबारीबाट रसुवागढीसम्म करिब ५० किलोमिटर राजमार्गको क्षेत्र बढी भिरपाखा भएका कारण अधिकांश भागमा साना–ठूला पहिरो जाने गरेको र गत असारदेखि हालसम्म १५० भन्दा बढी पहिरो पन्छाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।मेलम्चीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय सहज पार्ने एक मात्र रसुवागढी नाका रहेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अवरुद्ध सडक सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारीदिनुभयो ।

स्याफ्रुबेँसीदेखि रसुवागढी खण्डको १६ किमी क्षेत्रमा भने दिनहुँ सडकमार्ग अवरूद्व हुने समस्या बढेको छ ।हिमाली क्षेत्र खुकुलो माटो, गहिरो खोंच भएको स्थानमा निर्माणाधीन १११ मेगावाट रसुवागढी एवं १२० मेगावाट लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका साथै अन्य स्थानमा सडक विभागको उपकरणले पहिरो पन्छाउने कार्य हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर