दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना भएको पाइयो — OSNepal

दार्चुला तुइन प्रकरण : एसएसबीको उपस्थितिमै घटना भएको पाइयो

LC (KTM) September 01, 2021 0

दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

समितिले आज गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ । गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।

यता नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा प्रहरी निरीक्षक कपिल वाग्लेको निधन भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले मोटरसाइकल चालक दीपक पुन र स्व वाग्लेको असावधानीका कारण दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन आजै गृहमन्त्रीलाई बुझाएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर