मनै लोभ्याउने महाबु धाम: चलचित्र हब बनाउने योजना — OSNepal

मनै लोभ्याउने महाबु धाम: चलचित्र हब बनाउने योजना

LC (KTM) August 31, 2021 0

दैलेख, १५ भदौ- वरिपरि हरियाली देखिने दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान हो महाबु धाम । पाटन वरपर फुलेका हरिया रंगीन घाँस र थरीथरीका फूलहरू सिरसिर चल्ने हावासँगै नाच्न थाल्छन् । पाटनभरि चराचुरुङ्गी चिरबिराउँछन् । हरेक दिन घामको पहिलो स्पर्शसँगै ब्युँझिन्छ महाबु धाम ।

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको यो धाम दैलेखको महाबु र कालीकोटको महाबै गाउँपालिकाको बीचमा पर्छ । महाबुकै नामबाट यी दुई स्थानीय तहको नाम महाबु र महाबै रहन गएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ६७ किलोमिटर दूरीमा दैलेख सदरमुकाम रहेको छ ।

त्यहाँबाट ४५ किलोमिटर सवारी साधनमा र करिब एक किलोमिटर पैदल यात्रापछि यो धाम पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो धाम पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ ।

पाटनका बीचबीचमा ससाना ताल, नजिकै केही गाईगोठ र वरपर चौरमा भेडाबाख्रा चरनले महाबुको सौन्दर्य अतिमनमोहक बनाएको छ । यस ठाउँलाई कसैले शान्तिभूमिको संज्ञा दिन्छन् त कोही यसलाई स्वर्ग ठान्छन् । यताउति बुकी फुलेर सेताम्य छ । हावाको सिरेटोसँग फूल हल्लिरइहेका हेर्न उत्तिकै आनन्द आउँछ । त्यसैमाथि विभिन्न रंगीविर‌ंगी फूलले विवाह मण्डलझैँ देख्दा जति हेरे पनि धित मर्दैन ।

पहिलो प्रेममा पर्ने बेलाका प्रेमिल जोडीहरू जसरी एकअर्काको आखाँमा हेरेर थाक्दैनन्, त्यसरी नै पर्यटकलाई तानिरहन्छ महाबुले ।

तर, उचित पूर्वाधार र प्रचार प्रसारको अभावमा महाबुले आफ्नो सौन्दर्य टाढाटाढासम्म फैलाउन सकिरहेको छैन ।

समुद्र सहतबाट चार हजार १६८ मिटर अग्लो स्थानमा रहेको महाबु धाम प्रचुर पर्यटकीय संभावना बोकेको स्थान हो ।भौगोलिक रूपमा विकट र पूर्वाधारको अभाव भए तापनि यो स्थान धार्मिक तथा पर्यटकीय रूपमा दैलेखकै महत्त्वपूर्ण स्थानका रूपमा चिनिन्छ ।

महाबु धाम, जगन्नाथ र महाबईका पवित्र मन्दिरहरू यस स्थानमा पर्ने हुनाले यो एक पवित्र धार्मिक स्थलसमेत हो । महाबुको चुचुरोबाट दैलेख, कालीकोट, जुम्ला र जाजरकोट जिल्लाका अधिकांश भूभागसहित सुर्खेत, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्लाका शिखरहरूको रमणीय दृश्य नजिकबाट नियाल्न सकिने स्थानीय झलक गिरी बताउँछन् ।

पर्यटकीय हिसाबले थुप्रै संभावना बोकेको भन्दै महाबुलाई यहाँको पर्यटन प्रबर्द्धनमा सहयोगी बनाउन पालिका निरन्तर लागिपरेको गाउँपालिका अध्यक्ष जंगबहादुर शाही बताउँछन् । ‘डेढ सय जना बस्न मिल्ने भवन, गाडी पार्किङस्थल, खानेपानीको व्यवस्था, पदमार्गलगायतका पूर्वाधारको व्यवस्था गरिरहेका छौँ’, उनले भने ।

ढुंगाबाटै फुटेर शिवलिंग

रमणीय मात्र नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण मानिएको महाबुमा अवस्थित यस स्थानमा ढुंगाबाट उत्पत्ति भएको शिवलिंग छ ।

परंपरागत रूपमा भगवान् शिवको उत्पत्ति भएको कैलाश स्थानका रूपमा महाबु धाम प्रख्यात छ । दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुंगामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुंगामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्नसमेत आएको स्थानीय विश्वास छ ।

स्थानीय नरेन्द्र उपाध्यायका अनुसार दिनहुँ दूध चढाइने उक्त ढुंगाबाटै फुटेर शिवलिंग बनेको अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ । दैलेख, भुर्तीका आचार्य ब्राह्मणले ल्याएको दूध चढाउने र कालीकोटका काफ्लेले नै अहिलेसम्म शिव देवताको पहिलो पूजा गर्ने गरेका छन् ।

सधैँझैँ यस वर्ष पनि महाबु (गाथ) जानेको घुइँचो उस्तै देखिएको थियो । यात्रुलाई ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ । यस वर्ष पनि कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगंजलगायतका ठाउँबाट तीर्थालु उत्तिकै पुगेका छन् ।

जनै पूर्णिमामा लाग्छ दुई दिनसम्म महाबु मेला

जनै पूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्ने गर्छ । यहाँ जनै पूर्णिमाका दिन भक्तजनको भीड लाग्ने गर्छ । वर्षात्‌को समय भएकाले पनि यहाँ बिहानीपख सूर्योदयसँगै घामका किरणले शरीर तातिए पनि छिनछिनको हुस्सु र कुहिरोले शरीरमा काँडा निकाल्छ ।

छिनछिनमै घाम र कुहिरोको लुकामारीले महाबु मेलामा मनोकांक्षा लिएर गएका हजारौँ भक्तजनले छुट्टै आनन्द लिने गर्छन् ।

आफूले मागेको वरदान पूरा हुने जनविश्वास

महाबुको प्राकृतिक, भौगोलिक तथा पर्यटकीय महत्त्व त छ नै, धार्मिक गरिमा पनि उत्तिकै छ । पाटनको बीचमा ढुंगामाथि रहेको देवतालाई महाबु जगन्नाथ भनिन्छ । महाबु जगन्नाथलाई महादेवको रूपमा लिइन्छ । जगन्नाथको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । सन्तान नहुने परिवारलाई सन्तानलाभ हुने बूढापाका बताउँछन् ।

महाबुलाई चलचित्र हब बनाइँदै

पर्यटकीय रूपमा थुप्रै संभावना बोकेको महाबु धामलाई चलचित्र हब बनाइने गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘चलचित्र निर्माणका लागि अत्यन्त सुन्दर र रमणीय ठाउँ भएकाले चलचित्र विकास बोर्ड आएर अनुगमन गरिसकेको छ’, उनले भने ।

प्रदेश सरकार र स्थानीय तहको प्रमुख भूमिका हुने भन्दै यसमा चलचित्र विकास बार्डले संयोजन मात्र गरिदिने चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष तथा फिल्म दिर्देशक, निर्माता दयाराम दाहालले बताए । उनले भने, ‘चलचित्र हबका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गरिसकेका छौँ ।’

यता, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मुनबहादुर रावतले डल्लो बजेट रहेको र उक्त बजेट स्वीकृत नभएको बताए । उनले भने, ‘बजेट तयार छ तर स्वीकृत भइसकेको अवस्था छैन, स्वीकृत भएपछि जानकारी दिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर