भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद — OSNepal

भीम रावल धनगढी आए लगत्तै हराए समाजवादीमा खुलेका दुई सांसद

LC (KTM) August 31, 2021 0

धनगढी, १५ भदौ-नेकपा एमालेका उपाध्यक्ष भीम रावल धनगढी पुगेका छन् । माधव नेपाल छाडेर एमालेमा फर्किएपछि रावल पहिलोपटक सुदूरपश्चिम प्रदेश राजधानी धनगढी आइपुगेका छन् ।धनगढीमा माधव नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी) ले एमालेका प्रदेश सांसद आफ्नो पक्षमा सनाखत गराउन लाग्दा गरमागरम राजनीतिकाबीच रावल धनगढी आइपुगेका हुन् ।

रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई जना प्रदेश सांसद सम्पर्कविहीन भए । तीन जना सम्पर्कविहीन भएकोमा १ जना भने सम्पर्कमा आए । सम्पर्कमा आउने कुलवीर चौधरी हुन् । उनले निर्वाचन कार्यालय पुगेर समाजवादीमा सनाखत गरिसकेका छन् ।

प्रदेश सांसदहरु तारा लामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । उनीहरु निर्वाचन कार्यालय जाँदै गर्दा आधा बाटोबाटै हराएका हुन् । उनीहरु हराउनु र भीम रावल धनगढी ओर्लिनु एकै समय थियो । समाजवादीका नेताहरुले रावलसँगको सम्पर्कपछि उनीहरु हराएको आशंका गरेका छन् ।

समाजवादीले आज १३ जनाले सनाखत गर्ने तयारी गरेको थियो । तर १० जनाले मात्रै सनाखत गरे । समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले भोलि १४ सांसद पुग्ने दाबी गरेकी छन् । उनले दुईजना सा‌ंसदकाे कागजात नपुगेको दाबी गरेकी छन् ।दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर