चितवनको भरतपुर अस्पतालमा एक वर्षको अवधिभित्र ७ जना मेडिकल सुपरिटेण्डेण्ट परिर्वतन — OSNepal

चितवनको भरतपुर अस्पतालमा एक वर्षको अवधिभित्र ७ जना मेडिकल सुपरिटेण्डेण्ट परिर्वतन

LC (KTM) August 31, 2021 0

काठमाडौँ १५ भदौ । चितवनको भरतपुर अस्पतालमा एक वर्षको अवधिभित्र ७ जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएका छन् । गत वर्षको भदौदेखि हालसम्म ७ जना मेसु फेरिएका हुन् ।

एक वर्षको अवधिमा प्राडा कृष्ण पौडेलले सातौँ मेडिकल सुपरिटेण्डेण्ट हुने अवसर पाएका हुन् । हाल अस्पतालमा कार्यरत डा रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए । अधिकारी अध्यक्ष भएयताको सातौँ मेसु पौडेल भएका हुन् ।

विसं २०७७ भदौ २८ गते डा श्रीराम तिवारी सरुवालाई सरुवा गरेर डा राजन पाण्डेलाई मेसु बनाइएको थियो । पाण्डे दुुई महिनापछि मंसिर ८ गते सरुवा भएसँगै डा जगन्नाथ तिवारी मेसु भएका थिए । त्यसको तीन महिनापछि डा वासुदेव पाण्डेलाई मेसु बनाइएको थियो । गत वैशाख ४ गते पाण्डे निवृत्त भएपछि पुनः डा जगन्नाथ तिवारीलाई मेसु बनाइएको थियो ।

झण्डै दुई महिनापछि जेठ १३ गते डा रोशन न्यौपानेलाई मेसु बनाइएकोमा तीन महिनामा उनलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको हो । सरकारले आइतबार प्रा डा पौडेललाई भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेको हो ।

मेसु अस्थिर हुँदा अस्पतालको गुणस्तर र सुविधा खस्किँदै गएको छ । अध्यक्ष अधिकारीले विकास समितिले गरेका निर्णय मेसु अस्थिर हुँदा कार्यान्वयन हुन नसकेको बताए । यसपटक मेसु भइसकेका स्थानीय व्यक्तिले जिम्मेवारी पाएकाले लामो समय काम गर्ने अवसर प्राप्त हुने र विकास समितिले गरेका निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अधिकारीको भनाई छ ।

यो संघीय अस्पताल हो । ६ सय शैय्याको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा लिँदै आएका छन् । पटकपटक कार्यकारी प्रमुख परिवर्तन हुँदा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर