लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताउनुभयो । कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको भवनका लागि संस्थाले उठाएको रकममा थप अपुग भए पनि केही ऋण लिएर पूरा गरिएको बुद्धिष्ट सेन्टरले जनाएको छ ।
सन् २०१६ मा स्थापना गरेको यो संस्थामा स्थापना गर्दा केवल २१ जनाबाट गरिएको थियो तर हाल यस संस्थामा ४५१ जना आजीवन सदस्य र १४१ जना ट्रष्टी आबद्ध रहेको र उहाँहरूकै सामूहिक पहलमा यो काम सफल भएको अध्यक्ष गुरुङले बताउनुभयो ।गुम्बाको भवन भए पनि अझ गुम्बाका लागि लामा राख्ने र त्यसको व्यवस्थापन गर्न थुप्रै काम गर्न बाँकी रहेको अध्यक्ष गुरुङले बताउनुभयो । गुम्बाका लागि थप सामग्री र केही मूर्ति दाताबाट प्राप्त हुने बताइएको छ ।
गुम्बा खरिदका लागि रकम सङ्कलन गर्न संयोजकका रूपमा उपाध्यक्ष श्रीमती मीना गुरुङलाई तोकिएको र उहाँले थप सदस्य राखेर घरदैलो गरेर रकम सङ्कलन गर्न ठूलो भूमिका निर्वाह गर्नुभएको गुम्बा व्यवस्थापन समितिले जनाएको छ ।देश विदेशमा रहेका ११० वटा गुम्बाको छाता सङ्गठनका रूपमा रहेको बौद्ध नेपाल तमु बौद्ध सङ्गठनबाट लामाको व्यवस्था भई सकेको र जसका लागि सन् २०१८ मै एफओयू गरेको र यसभित्र १७ आचार्य, चार जनाले बुद्ध धर्मकै विषयमा विद्यावारिधि गरेको अध्यक्ष गुरुङले बताउनुभयो । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा लण्डनको लउइचदेखि प्लमस्डीडसम्म पदयात्रा गर्दै आइरहेको सेन्टरले जनाएको छ ।