कसरी जोगियो माधव नेपाल सहित १४ सांसदको पद ? — OSNepal

कसरी जोगियो माधव नेपाल सहित १४ सांसदको पद ?

LC (KTM) August 30, 2021 0

काठमाडौं । नेकपा (एमाले)बाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने भएको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

निर्वाचन आयोगले ११ भदौमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेको थियो । दल दर्ताको सूचना निर्वाचन आयोगले संसद् सचिवालयलाई पठाएकाले कारबाहीका लागि सिफारिस गरिएकाविरुद्ध कुनै कदम चाल्नु नपर्ने निर्णय आइतबार सभामुखले गरेका हुन् ।

सभामुखको निर्णयसँगै नेता नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीको सांसद पद जोगिएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन तथा नयाँ दल दर्ता भइसकेको अवस्थामा कारबाही गर्नु नपर्ने निर्णय सभामुखबाट भएको हो ।’

गत १ भदौमा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो । २७ वैशाख २०७८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेकाले उनीहरूलाई पार्टी र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर