श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति भण्डारीले दिइन शुभकामना — OSNepal

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति भण्डारीले दिइन शुभकामना

LC (KTM) August 30, 2021 0

राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिनुहुँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गर्नुभएको छ । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने अपेक्षा लिएको छु ।”

राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने पनि राष्ट्रपतिले आशा व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर