एक महिनासम्म पत्ता लागेन सडकबाट उद्धार गरिएका बालकको घर ठेगाना — OSNepal

एक महिनासम्म पत्ता लागेन सडकबाट उद्धार गरिएका बालकको घर ठेगाना

LC (KTM) August 29, 2021 0

इलाम, १३ भदौ- इलाम नगरपालिका क्षेत्रबाट उद्धार गरिएका १५ वर्षीय एक बालकको घर ठेगाना पत्ता नलाग्दा समस्या भएको छ । मीनकुुमार मगर नाम बताउने बालकको घर ठेगना पत्ता नलाग्दा उनको परिवारसम्म पुग्न गाह्रो परेको हो ।

एक महिनाअघि प्रहरीले सडकमा लडिरहेको अवस्थामा यी बालकको उद्धार गरेको थियो । उद्धारपछि प्रहरीले नै उनको घर ठेगाना र परिवारको खोजी गरेको थियो तर पत्ता लाग्न नसकेको बताएको छ । घर ठेगाना नै पत्ता नलागेपछि प्रहरीले उनलाई मानवअधिकार मंचको आवासगृहमा पठाएको थियो ।

मानवअधिकार मञ्चले पनि बालको घर ठेगाना खोजी जारी राखे पनि हालसम्म पत्ता लाग्न नसकेको मानवअधिकार मंचका बाल हेल्पलाइनका प्रमुख भक्त थामीले बताए । बालकलाई घर ठेगाना सोध्यो भने ‘उदयपुर काठमाडौं’ भनेर जबाफ दिने गरेको थामीको भनाइ छ ।

बस चढेर इलाम आएको बताउने बालकले आफ्नो घर ठेगाना यकिन नभन्दा परिवार पत्ता लगाउन समस्या भएको हो ।

सडकबाट उद्धार गरिएका बालकमा मधुमेहको समस्या देखिएको छ । अहिले उनी कोभिडबाट समेत संक्रमित भएका छन् । उनलाई जिल्ला अस्पताल इलामको आइसोलेसनमा राखेर उपचार गरिँदै छ । मंचले बालकको घर ठेगाना र परिवारको पहिचानका लागि सबैसँग आग्रह गरेको छ ।

‘हामी अधिकारकर्मी र प्रहरीले मात्र उनको परिवार पत्ता लगाउन सकेनौँ’, मानवअधिकार मंचका अध्यक्ष मोहनसिंह थेबेले भने, ‘उनको घर परिवार होला, परिवारको खोजीका लागि संचार क्षेत्रलाई समेत अनुरोध गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर