रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै — OSNepal

रुद्रपुरगढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

Kesh Karki (USA) August 29, 2021 0

सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित आसपासका क्षेत्र समेटेर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने रुद्रपुरगढीसहितका यस आसपासका क्षेत्रलाई समेटी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष रु चार करोड बढी रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । सङ्घीय सरकारको रु दुई करोड आठ लाख र गाउँपालिकाको रु दुई करोड आठ लाख गरी रुद्रपुरगढी पर्यटकीय विकास कार्यक्रमका लागि रु चार करोड १६ लाख विनियोजन गरिएको छ ।

गाउँपालिकाले सेनकालीन इतिहाससँग जोडिएको रुद्रपुरगढीसहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यसअघि नै योजना अगाडि बढाएको थियो । सानो रकमले योजना पूरा गर्नसक्ने अवस्था नरहेकाले गाउँपालिकाले सङ्घीय सरकारसँग रकम माग गरेर यस वर्षदेखि कार्यक्रम सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।रुद्रपुरगढीमा सेनकालीन राजाको दरबारका भग्नावशेष सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो, सेनाले परेड खेल्ने टुँडिखेल, सुरुङलगायत छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकाससँगै प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर कार्यअघि बढाइने उहाँको भनाइ छ ।

यस्तै रुद्रपुरगढीमै प्रदेशस्तरीय हिल स्टेशनसमेत निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । चौतर्फी रुपमा पर्यटनको विकास गर्न हिल स्टेशन निर्माणको योजना अगाडि सारिएको अध्यक्ष पाण्डेले बताउनुभयो । हिल स्टेशनमा आर्कषक बगैँचा, भ्यु टावर, कोसेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट, खेलका पूर्वाधारलगायतका भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।पर्यटन बोर्डले हिल स्टेशनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर ) तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिनुभयो । हिल स्टेशनको निर्माणको लागि पर्यटन बोर्डले रु ४७ करोडे बजेट प्रस्ताव गरेको उहाँले बताउनुभयो । रुद्रपुरगढी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो ।

गाउँपालिकाले प्रत्यक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको उहाँले बताउनुभयो । रुद्रपुरगढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचना निर्माण, लालीगुराँस संरक्षित क्षेत्रलगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो । यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ ।“रुद्रपुरसहितका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने काम गरिरहेका छौं, यसले पर्यटनमा आश्रित व्यवसाय बढदै जाने र यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमासमेत सहयोग पुग्ने विश्वास छ”, प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर