बाढीपहिरोबाट ९० जनाको मृत्यु, ७५९ घर भत्किए — OSNepal

बाढीपहिरोबाट ९० जनाको मृत्यु, ७५९ घर भत्किए

LC (KTM) August 29, 2021 0

काठमाडौं । बाढीपहिरोबाट नेपालमा हालसम्म ६३ वटा जिल्ला प्रभावित भएका छन् । जेठ ३१ देखि भदौ ११ गतेसम्म बाढीपहिरोका कारण ६३ वटा जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो मनसुनमा बाढीपहिरोका कारण ९० जनाले ज्यान गुमाइसकेका छन् । ४५ जना बेपत्ता र ९६ जना घाइते भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणको विवरणमा उल्लेख छ । यसैगरी ४० जिल्लामा ७५९ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १६८ वटा घरमा आंशिक क्षति भएको छ ।

बाढीपहिरोका कारण ३७ वटा सरकारी कार्यालय, १५ वटा सामुदायिक भवन–स्कुल, २५ वटा जलविद्युत आयोजना, २९ वटा मोटरेबल पुलमध्ये ७ वटा काठेपुल र २९ वटा झोलङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण बाजुरामा एक जनाको मृत्यु, एक जना बेपत्ता भएका छन् । त्यस्तै ११ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने ५ वटा घरमा आंशिक क्षति भएको छ । गोरखामा बाढीबाट चार जनाको मृत्यु, दुई जना बेपत्ता र दुई जना घाइते भएका छन् । साथै १६ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ५८ वटा घरमा आंशिक रुपमा क्षति भएको छ । त्यस्तै एउटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

मनाङमा बाढीका कारण ५९ वटा घर पूर्णरुपमा र २० वटा घरमा आंशिक रुपमा क्षति भएको छ । साथै बाढीले सडक एक, बेलिब्रिज एक, सामुदायिक भवन एक, झोलुङ्गे पुल आठ, पक्कि पुल दुई, मोटरेवल काठेपुल सात, सरकारी कार्यालय चार, स्कुल १ र दुई वटा बैंकमा क्षति पुगेको छ । त्यस्तै चारवटा विद्युतीय पावर हाउसमध्ये दुईवटा पूर्णरुपमा क्षति भएको छ भने दुईवटाको पाइपलाइन बाढीले बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर