आफ्ना सहकर्मी साथीहरुलाई ‘गुड बाइ’ भन्दै मैदान छाडे रोनाल्डोले — OSNepal

आफ्ना सहकर्मी साथीहरुलाई ‘गुड बाइ’ भन्दै मैदान छाडे रोनाल्डोले

LC (KTM) August 27, 2021 0

काठमाडौं, ११ भदौ । इटालियन सिरी ए क्लब युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो साताको पहिलो प्रशिक्षणमा अनुपस्थित भएका छन् । पोर्चुगिज स्टार स्ट्राइकर क्लबको बिहानी अभ्यासमा करिब ४० मिनेट बाहिर बसेर आफ्ना सहकर्मी साथीहरुसँग ‘गुड बाइ’ भन्दै बाहिरिएको डेलीमेलले जनाएको छ ।

३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको युभेन्ट्ससँग अझै एक वर्षको सम्झौता बाँकी रहेको छ । तर, पछिल्लो लिगमा सिरी ए सहित च्याम्पियन्स लिगमा उपाधिविहीन भएपछि रोनाल्डो एक वर्ष अघि नै सिरी ए क्लब छोड्ने मनसायमा रहेका थिए ।पछिल्लो २४ घण्टा यता रोनाल्डो म्यानचेष्टर फर्कने दाउमा रहेका छन् । तर, पूर्वक्लब म्यानचेष्टर युनाइटेड नभई यसपटक रोनाल्डोले म्यानचेष्टर सिटी रोजेका हुन् ।
टोलीका साथीहरुको बिहानी सत्रको करिब ४० मिनेट अभ्यास हेरेपछि रोनाल्डो गाडी चढेर बाहिरिएका हुन् ।

सिरी ए को पहिलो खेलमा उडिनेसविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डोले यस सिजन फ्रि ट्रान्सफरमा सिटी जाने योजना बनाएका हुन् ।यता, अन्तिम समयमा इंग्ल्याण्ड राष्ट्रिय टोली तथा टोटनह्यामका कप्तान ह्यारी केन म्यान सिटी नआउने भएसँगै सिटीसमेत रोनाल्डो ल्याउने दाउमा रहेको छ । यसअघि अर्का स्टार लियोनल मेसी भित्र्याउने दाउमा रहेको सिटी अन्तिम समय त्यसमा सफल भएको थिएन ।

यता, प्रशिक्षक पेप ग्वार्डिओलासमेत रोनाल्डो ल्याउन सहमत भएका छन् । रोनाल्डो, युभेन्ट्स र सिटीबीच अब अन्तिम वार्ता भएसँगै सिटीले रोनाल्डोलाई आधिकारीक रुपमा भित्र्याउनेछ ।यस अघि रोनाल्डोले सन् २००३ बाट २००९ सम्म म्यानचेष्टर युनाइटेडबाट खेलेका थिए । त्यसपछि रोनाल्डो ला लिगा पावर हाउस रियल म्याड्रिड पुगेका थिए । नौ वर्ष रियल बिताएका रोनाल्डो सन् २०१८ मा युभेन्ट्स पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर