काठमाडौं भदौ ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटा सभामुख भन्दा पनि माओवादी केन्द्रको छापामार या गुरिल्लाजस्तो भूमिकामा देखिएको आरोप लगाएका छन् ।
आज बिहान एक कार्यक्रममा सहभागी भएका थापाले सभामुखलाई गुरिलाको संकेत गर्दै यस्तो टिप्पणी गरेका हुन् । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाहीलाई कार्यान्वयन नगरेको भन्दै उनले सापकोटाको पदीय आचरण र न्यूनतम योग्यतामा समेत प्रश्न उठाएका छन् ।
‘नेकपा एमालेले साउन २५ को निर्णय भनीकन भदौ १ गते माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको थियो’ कार्यक्रममा उनले भने ।
उनले आफ्नो पार्टी प्रवेश गरेका पुर्व माओवादीका नेता टोपबहादुर रायमाझी, गौरीशंकर चौधरीलगायतको हकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्र पुग्ने बित्तिकै संसद्मा सापकोटाले सुनाएको भन्दै अहिले एमालेको हकमा भने त्यसो नगरेकाले अब सापकोटाको धरातल देखाइदिने बताएका छन् ।
थापाले सापकोटालार्य नालायक पात्रको रुपमा देखिसकेको बताउँदै सचिवालयका तर्फबाट तत्काल सूचना टाँस पर्नेमा दाँत दुख्यो भनेर वेपत्ता भएको भन्दै उनले भने, ‘उहाँ के डामेर छाडेको साँढे हो ? के टुँडिखेलमा खरिको बोटमुनि उभिन सक्नुहुन्छ ?’ कार्यक्रममा थापाले माधव नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्याटेलाइट र प्रधानमन्त्री शेरबहादुर देउवाको बैसाखी मात्र भएको टिप्पणी समेत गरेका छन् ।
नेपाललाई कुहिँएको अण्डासँग तुलना गरेका थापाले कार्यक्रममा अघि भने, ‘जुन गोरुको सिङ छैन, उसको नाम तीखे राखिएको छ । तुच्छतम स्वार्थका निम्ति पार्टी फुटाएर नाम एकीकृत समाजवादी राख्ने ? उहाँ हिजोदेखि हाम्रो पार्टीको अभिलेखबाट हट्नुभएको छ । अब उहाँ शेरबहादुर देउवाको अनुचर र अर्दली मात्र हो । कम्युनिस्ट बिग्रियो भने कुहिएको अण्डाजस्तो गन्हाउँछ भन्थे, उहाँ त्यस्तै हुनुभएको छ ।’