को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य — OSNepal

को हुन् प्रदेश नं १ मा मुख्यमन्त्री बनेका भीम आचार्य

Kesh Karki (USA) August 26, 2021 0

सुनसरी क्षेत्र नं १ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आज उहाँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । संविधानको धारा १६८ (१) अनुसार उहाँ मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेता तथा मुख्यमन्त्रीबाट राजीनामा गरेपछि आचार्यलाई संसदीय दलको नेतामा चयन गरी मुख्यमन्त्री बनाइएको हो ।नेकपा (एमाले)का सचिवसमेत रहनुभएका आचार्य सुनसरी–१ (ख)बाट विसं २०७४ को निर्वाचनामा २० हजार २११ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसअघि उहाँ संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं ६ बाट विजयी हुनुभएको थियो ।विसं २०१६ वैशाख १४ गते धनकुटामा जन्मनुभएका आचार्य लामो सयमदेखि सुनसरीको इनरुवामा स्थायी बसोबास गर्दै आउनुभएको छ । सन् १९९५ देखि विद्यार्थीबाट राजनीति यात्रा शुरु गर्नुभएका आचार्य सन् १९९७ देखि एमाले पार्टीमा सक्रिय हुनुहुन्छ । विसं २०७१ मा सुशील कोइराला नेतृत्वको सरकारमा उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुभएको थियो ।

विसं २०७४ मा भएको पार्टीको प्रदेश संसदीय दलको नेतामा उहाँ शेरधन राईसँग दुई मतले पराजय हुनुभएको थियो । नेकपा एमालेका वरिष्ठ नेता हाल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालनिकट मानिने आचार्य विगत एक वर्षअघिदेखि पार्टीमा देखिएको विवादमा एमाले एक हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर