अन्ततः विभाजित भएरै छाड्यो एमाले ! — OSNepal

अन्ततः विभाजित भएरै छाड्यो एमाले !

LC (KTM) August 26, 2021 0

काठमाडौँ – निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठनका लागि एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदको बुधबार हस्ताक्षर सनाखत गरेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सनाखतपछि आयोगले नेपाल नेतृत्वको उक्त दललाई दर्ता गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ। एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो।

आयोगद्वारा निर्धारण गरिएको समयअनुसार बुधबार निर्वाचन आयोग पुगेर ५४ केन्द्रीय सदस्य तथा २९ सांसदले सनाखत गरेका हुन्। वरिष्ठ नेता झलनाथ खनालले भने भारतस्थित नेपाली दूतावासमार्फत पत्र पठाएर सनाखत गराएका थिए। एमालेबाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरी १ सय ५४ सांसदमध्ये ३० जना र २ सय ३ जना केन्द्रीय सदस्यमध्ये ५५ जनाले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि सनाखत गरेका हुन्।

नयाँ दल विभाजनका लागि केन्द्रीय सदस्यको संख्या २७ प्रतिशतभन्दा बढी भए पनि सांसदको संख्या भने २० प्रतिशत पुगेन। आयोगले दल विभाजनका लागि दिएको निवेदनमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्य तथा सांसदहरूलाई सनाखतका लागि बुधबार बिहान साढे ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि समय तोकेको थियो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेता खनालसहित ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेको बताए।

दल विभाजनका बेला आयोगमा पेस गरेको निवेदनमा हस्ताक्षर नभएका चार सांसदको भने सनाखत हुन सकेन। आयोगले सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र मायादेवी भट्टको सनाखत गर्न अस्वीकार गरेको हो। दल दर्ताको निवेदनभन्दा पछि आएकाले उनीहरूले सनाखत गर्न नपाएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए। योसँगै अब यी सांसदहरू नयाँ दलमा जान पाउने/नपाउने विषयमा अन्योल सिर्जना भएको छ।

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच संघर्ष चुलिएका कारण नेपाललाई पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा आवश्यक संख्या नपुग्ने अवस्था आएपछि सत्तारूढ गठबन्धनको सहमतिअनुसार शेरबहादुर देउवा नेतृत्व सरकारले गत साता राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर