रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण — OSNepal

रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण

Kesh Karki (USA) August 25, 2021 0

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण गरिएको छ । कुइनेमङ्गलेको घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्क हुँदै रिखार जाने पदमार्गमा रहेका छहरेखोला र बगरखोलामा अस्थायी काठे साँघुलाई विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरिएको हो ।पात्लेखर्कदेखि रिखार जाने पदमार्गमा पर्ने बगरखोलामा रु ४६ लाख ७१ हजार लागतमा ७१ मिटर लामो झोलुङ्गेपुल निर्माण भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ससर्त बजेटबाट गाउँपालिको सञ्चालन गरेको यस योजनमा उपभोक्ताले रु ९३ हजार बराबरको श्रमदान गरेका छन् ।

यस खोलामा हरेक वर्ष वारपारका लागि काठे साँघु बनाउने गरिएको थियो ।जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजा हुने रिखार जाने भक्तजनको सुविधाका लागि हरेक वर्ष अस्थायी साँघु बनाउँदा करिब ३० हजारको हाराहारीमा खर्च हुँदै आएकामा झोलुङ्गेपुल निर्माण भएपछि साँघु बनाउनुपर्ने झन्झट हटेको र आर्थिक व्ययभारसमेत हटेको रिखार संरक्षण समितिका अध्यक्ष चित्र छन्त्यालले बताउनुभयो ।त्यसैगरी छहरेखोलामा रु ४२ लाख ६९ हजार लागतमा ७४ मिटर लामो झोलुङ्गेपुल निर्माण भएको छ ।

नेपाल सरकारको सशर्त अनुदानबाट गाउँपालिकाले सञ्चालन गरेको यस योजनामा उपभोक्ताले ८५ हजार बराबरको श्रमदान गरेका छन् । यो पुल निर्माणपछि घ्यासीखर्कदेखि ढाँड, दुवाडी, पात्लेखर्कका स्थानीयवासीलाई वारपार र आवतजावतका लागि सहज भएको छ भने रिखार जाने भक्तजन र पर्यटकहरुलाई समेत सुविधा पुगेको छ ।दुवै पुल निर्माणमा गैरसरकारी संस्था मिलन म्याग्दीले प्राविधिक सहजीकरण गरेको थियो । दुवै झोलुङ्गेपुलको एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले उद्घाटन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर