खोलाको निकास साँघुरियो, बाढीको जोखिम बढ्दै — OSNepal

खोलाको निकास साँघुरियो, बाढीको जोखिम बढ्दै

Kesh Karki (USA) August 25, 2021 0

बाँकेको पेडारी खोलाको निकास साँघुरिदै गएपछि वर्षायाममा आउने बाढीले आवतजावतमा समस्या हुने गरेको छ ।बाँकेको बैजनाथबाट खजुरा हुँदै बग्ने पेडारी खोलाले वर्षायाममा कटान गर्दै आउने र खजुरा बजार क्षेत्रमा पुगेपछि डुबान गराउने गरेको छ ।नेपालगञ्ज–गुलरिया सडकखण्डमा पेडारी खोलामा रहेको साँघुरो पुलको वारीपारी सडकबाट बाढी बग्ने गरेको छ । खोलाको निकास साँघुरो भएपछि सडकबाटै बाढी बग्ने गरेका कारण वर्षायाममा लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछ ।

पेडारीखोलामा आउने बाढीका कारण यो वर्ष पनि नेपालगञ्ज–गुलरिया सडकखण्डको लामो समय सवारीसाधन जाममा परेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारीसाधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरे पनि ठूलो बाढी आउँदा पुल साँघुरो भएकाले खोला भरिएर वारीपारी सडकमाथिबाट बग्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार नदी तथा खोलाहरू अतिक्रमण हुनु नै बाढीका प्रमुख कारण हो ।

अहिले खजुरामा सडक विस्तारको काम चलिरहेको छ । चारलेन सडक विस्तार गर्ने क्रममा पुल पनि विस्तार गरिने गाउँपालिका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । नयाँ चार लेनको पुल नबन्दासम्म अन्य विकल्प नरहेको उहाँको भनाइ छ । चारलेन सडकसँगै पेडारी नालामा चार लेनकै पुल निर्माणको डिपिआर भइसकेकाले अब काम शुरु हुने खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिको भनाइ छ ।

खजुरा गाउँपालिकाकै वडा नं २ मा पर्ने किरण खोलाको पुल विस्तारका लागि भत्काइएपछि अहिले यातायात अवरुद्ध हुनपुगेको छ । नेपालगञ्ज–गौघाट सडकखण्डको सीतापुर केगाउँस्थित किरणखोलाको जीर्ण पुल तीन महिनाअघि भत्काइएको थियो । वर्षाको समयमा पुल नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताउनुभयो ।किरणखोलामा पुल नभएका कारण सदरमुकाम नेपालगञ्ज आउन अहिले जानकी गाउँपालिकाको बेलभार हुँदै वैकल्पिक लामो बाटो प्रयोग गर्नुपरेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर