कोरोना संक्रमितले अस्पतालमा ठाउँ नपाएपछि घरमै बसेर बाँच्ने आश जगाउदै — OSNepal

कोरोना संक्रमितले अस्पतालमा ठाउँ नपाएपछि घरमै बसेर बाँच्ने आश जगाउदै

LC (KTM) May 18, 2021 0

दुल्लु , ४ जेठ-गत वैशाख २८ गते पखाला लाग्ने, ज्वरो आउने र शरीर भतभती पोल्ने भएपछि नारायण नगरपालिका–२ का ५८ वर्षीय नमराज थापा थला नै पर्नुभयो । निजामती सेवाबाट हालै निवृत्त उहाँ त्यसपछि घरमै छुट्टै कोठामा बस्न थाल्नुभयो । आफूलाई कोरोना संक्रमणले समातेको हुनसक्ने आशङ्काले त्यो रात कष्टकर भएपनि परिवारका अन्य सदस्यको सहयोगविना कटाउनुभयो ।

भोलिपल्ट सकीनसकी दैलेख बजारमा परीक्षणका लागि जानुभयो । छोराछोरी अन्यत्रै जागिरमा रहेको घरमा ९४ वर्षीय आमा र श्रीमती मात्रै हुँदा उहाँ पोजेटिभ भई थप गाह्रो आफूलाई गाह्रो भएमा कसरी व्यवस्थान गर्ने भन्ने चिन्तामा हुनुहुन्थ्यो । नभन्दै रिपोर्ट पोजेटिभ आयो तर उहाँले मनोबल उच्च नै बनाउनुभयो । केहीदिन पछि घरमा औषधि लिएर छोरा पनि आइपुगेपछि उहाँले अब छोराले मर्न दिन्न भन्ने आशा गर्नुभयो । उहाँले जिल्ला अस्पतालमा भर्ना हुनका लागि धेरै पटक सम्पर्क गर्नुभयो तर ठाउँ भएकाले घरमै बस्न भनियो । उक्त अस्पतालमा भेन्टिलेटर र अक्सिजनको अभाव छ ।उहाँका जेठा छोरा सुन्दर थापाले आफूले मेडिकलबाट काठमाडौकै चिकित्सकसँग फोनमा सल्ला लिएर औषधि ल्याएकाले सहज भएको बताउनुभयो । सरकारले सङ्क्रमितको तथ्याङ्क सङ्कलनमा मात्रै ध्यान दिएको तर सबै बिरामीलाई ध्यान दिन नसकेको गुनासो गर्नुभयो ।

थापा मात्र होइन नाम बताउन नचाहने जनता मावि, दैलेखका एक शिक्षक आफूलाई कोरोनाको शङ्का लागेर अस्पतालमा पिसिआर गर्न जाँदा परीक्षण गर्न नपाइएको गुनासो गर्छन् । घरमै एक्लै बस्न र आफै उपचार गर्न भनेर फर्काइयो । जिल्लामा करीब एक हजार जनालाई पोजेटिभ देखिए पनि अस्पतालबाट घरमा पठाइएको छ । यसले समुदायमा सङ्क्रमण फैलने त्रास बढेको छ ।

जिल्ला अस्पतालका कोरोना फोकल पर्सन तथा सूचना अधिकृत थिरप्रसादले होम आइसोलेशनमै बसेर ठिक हुन सक्नेका लागि अस्पतालमा राख्न नपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सङ्क्रमित भई होम आइशोलेसनमा बसेका र निको भएकाको परीक्षण गर्न निर्देशन दिने जनाउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर