जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ विजोग अवस्थामा — OSNepal

जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ विजोग अवस्थामा

LC (KTM) August 24, 2021 0

जाजरको- दिनरात जनताको जिउधनको सुरक्षामा सक्रिय रहनु पर्ने नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकीहरु अहिले पनि भाडाको जिर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र बर्षायाममा पानीका कारण सुखसँग आफूहरु बस्न नपाएको प्रहरीले बताएका छन् । बाथरुम, शौचालय र खानेपानीको समस्य पनि उस्तै रहेको प्रहरीको गुनासो छ ।

आफ्नै भवन भएको ठाउँमासमेत छाना चुहिँदा बस्न योग्य नभएको प्रहरीले पटकपटक गुनासो गरेपनि मागको सुनुवाइ भएको छैन । चुहिने कच्ची भवनमा सास्तीकासाथ दैनिक प्रहरीहरु सेवामा जुटिरहेको छन् । जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालयसँगै रहेको भवन जिर्ण हुँदा कतिखेर भत्किन्छ भनेर रातभर निन्द्रा नलाग्ने गरेको प्रहरी बताउँछन् ।

भेरी नगरपालिकाको स्यालामा भाडाको भवनमा बसिरहेका छन् । त्यस्तै वडा नम्बर १ रिम्नामा आफ्नै भवन भएपनि खानेपानीको अभावमा समस्य हुँदै आएको डिएसपी मधु थापाले बताए ।

त्यस्तै भेरी नगरपालिका –११ जगतीपुर , वडा नम्बर १२ को मटेला, वडा नम्बर १३ मा खरको छानो चुहिने, खानेपानी र शौचालयको समस्य रहेको छ । भेरी नगरपालिका–३ ठाटीमा भवनको अभाव तथा पहिरोको जोखिममा रहेका कारण समस्य हुँदै आएको छ ।

भेरी नगरपालिका–३ स्यालमा भाडाको घरमा बसेर सुरक्षा दिनुपरेको छ । त्यस्तै वडा नम्बर– १ को रावतगाउँ होलुखोलमा भाडाको रहेका प्रहरी चौकीमा सेवा दिइरहेको बताएको छ ।

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ गर्खाकोटमा भाडाको घर र वडा नम्बर ९ पन्चाला दहमा जिर्ण भवनमा बसेर काम भइरहेको र शौचालयको समस्याले गर्दा हैरान भएको प्रहरीले बताएका छन् । बारेकोट गाउँपालिकाको १, २, ५ र ८ मा भाडाको भवनमा आफूहरु बस्न बाध्य भएको प्रहरीले बताएको छ ।

त्यस्तै नलगाड नगरपालिका– ८ मैदेमा भाडामा रहेको भवनमा शौचालय नहुँदा समस्य भएको बताएको छ । वडा नम्बर ११ मा समेत भाडामै घरमा प्रहरी चोकी रहेको छ । त्यस्तै कुशे गाउँपालिका–३ अछार्नीमा रहेको प्रहरी चौकीमा बाथरुम नहुँदा प्रहरीलाई सरसफाइमा समस्या पर्नुका साथै भान्सा पानी चुहिने हुँदा खाना पकाउन मुस्किल हुने गरेको छ । भाडामा रहेको यो भवन कच्ची माटोले बनेका कारण दैनिक समस्य हुँदै आएको प्रहरीले बताएको छ ।

छेडागाड नगरपालिका–३ दशेरामा रहेको प्रहरीको आफ्नै भवन चुहिँदा प्रहरीलाई सुत्न समस्य हुँदै आएको छ । शिवालय गाउँपालिका– १ छेडाचौरमा भान्सा घर चुहिँदा खाना पकाउन मुस्किलका साथै खानेपानीको अभावमा भेरी नदीको फोहर पानी पिउन बाध्य भएको प्रहरीले बताएको छ । वडा नम्बर–५ को थालारैकरको भवनसमेत भाडामा रहेको छ ।

गाउँमा रहेको प्रहरी चौकीमा बत्ती, खानेपानी लगाएको समस्य हुँदै आएपनि समस्य बुझने कोही नभएको उनीहरुको भनाइ छ । सदरमुकामस्थित जिल्ला कार्यालयबाट गाउँमा रहेका प्रहरी चौकीमा सम्पर्क गर्न खोजेपनि समयमै सम्पर्क हुन नसक्ने अवस्था रहेको जाजरकोटका प्रहरी प्रमुख मधु थापाले बताए । पर्याप्त दरवन्दीसमेत नभएका कारण दैनिक काममासमेत बाधा पुग्दै आएको छ । आकाशमा बादल लाग्न बितिकै प्रहरी चौकीहरुमा सम्पर्क टुट्ने गरेको प्रमुख थापाले जानकारी दिए । बस्न, खानाका साथै सुत्नका लागिसमेत निकै अप्ठ्यारो हुँदै आएको छ ।

प्रहरीको सञ्चार सेट तथा नेपाल टेलिकमका सेवाले काम नगर्दा दैनिक कामकारवाहीमा समस्य भोग्नु परेको प्रहरीले बताएका छन् । आफूहरु बसेको गाउँमा कच्ची माटाले बनेका घर कति बेला भत्किन्छ भन्ने डरले चिन्ता हुने गरेको डिएस्पी थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर