पशु अस्पताल भित्र देखियो यस्तो बिजोग, प्रहरीको काँडेतार भित्र खुम्चिएर बस्न बाध्य — OSNepal

पशु अस्पताल भित्र देखियो यस्तो बिजोग, प्रहरीको काँडेतार भित्र खुम्चिएर बस्न बाध्य

LC (KTM) August 23, 2021 0

जाजरकोट, ७ भदौ । आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै जाजरकोटको पशु अस्पताल तथा पशु सेवा कार्यालय शसस्त्र प्रहरीको काँडेतार भित्र खुम्चिएर बस्नु परेको छ । जनतासँग प्रत्यक्ष सम्पर्क र सम्बन्ध रहने कार्यालय २ बर्षदेखि सशस्त्र प्रहरी बलको काँडेतारभित्र गुम्सिएर बसेको छ । भवन र ठाँउ अभावमा पशु अस्पताल संचालनमा आउन सकेको छैन ।

सदरमुकामस्थित थाप्लेमा कार्यालयको नाममा ७ रोपनी जग्गा छ । उक्त जग्गामा ५ ओटा भवन छन् । तीमध्ये ४ वटा भवन शसस्त्रले प्रयोग गर्न थालेपछि यी कार्यालय काँडेतारभित्रको एउटा भवनमा सिमित भएका छन् ।

संघीय संरचना अन्र्तगत कार्यालयहरुको पुर्नसंरचना गर्ने क्रममा २०७४ सालमा जिल्ला पशु सेवा कार्यालय खारेज गरेर पश्चिम रुकुमस्थित पशुपंक्षी विज्ञ केन्द्रमा गाभिएको थियो । तर सम्पर्क कार्यालयका रुपमा कतिपय काम यही कार्यालयवाट भइरहेको छ ।

२०७४ सालमा सरकारले जाजरकोटमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने निर्णय गरेको थियो । केही समय जिल्लाका अन्य ठाँउमा बसेपनि उपयुक्त ठाँउ नपाएको शसस्त्रलाई तत्कालीन जिल्ला सुरक्षा समिति र राजनीतिक दलको सहमतिमा तत्कालीन जिल्ला पशु सेवा कार्यालयमा राख्ने निर्णय भयो ।

२०७६ असार देखि यो स्थानमा सशस्त्र प्रहरी बस्न थालेको हो । पुनः पशुपंक्षी सम्बन्धि कार्यालय जिल्लामा रहुनपर्ने आवाज उठेको र प्रदेश सरकारले समेत आवश्यकता महसुस गरेपछि पशु चिकित्सकको दरबन्दी सहित पशु अस्पताल तथा पशु सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिएको थियो । उक्त निर्णय पछि २०७६ साउन देखि कार्यालय संचालनमा आयो ।

काँडेतारभित्रबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भइरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्री बताउँछन् । ‘बाहिर सुरक्षा पोष्ट छ भने भित्र कार्यालय छ । यस्तो अवस्थामासेवा लिने र दिने दुवै पक्षलाई समस्या छ’, उनी भन्छन् ।

त्यसो त सशस्त्र प्रहरीलाई पनि सेवाग्राहीको भीडभाड भइरहने कार्यलयसँगै बस्नुपर्दा अफ्ठयारो लागिरहेको छ । ‘एक सय ५० जना सशस्त्र प्रहरीलाई स्वभाविक रुपमा फराकिलो ठाँउ चाहिन्छ । अर्को कार्यालयसँग मिलेर बस्नु पर्दा धेरै गाह्रो भइरहेको छ’, शसस्त्र प्रहरी गुल्मका प्रमुख डिएसपी नरेश भण्डारीले न्युज कारखानासँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर