जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सकियो, पाँच हजारभन्दा बढी भक्तजन सहभागी — OSNepal

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सकियो, पाँच हजारभन्दा बढी भक्तजन सहभागी

LC (KTM) August 22, 2021 0

रसुवा- रसुवाको धार्मिक तथा पवित्र तिर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सकिएको छ । हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने यस वर्षको गोसाइँकुण्ड मेला सकिएको हो ।

गएको साउन २९ देखि भदौ ६ गतेसम्म गोसाइँकुण्डमा लागेको जनैपूर्णिमा मेलामा यो वर्ष ५ हजारभन्दा बढी भक्तजनले मेला भरेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए ।

विगतका वर्षहरुमा व्यवस्थित रुपमा मेला सञ्चालन हुने गरेकोमा यो वर्ष कोरोना संक्रमण दर नियमित बढिरहेकाले जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा दर्शनमा हुनसक्ने भिड एवं तिर्थालुहरुको आवागमनबाट संक्रमणदर बढ्ने भन्दै मेला स्थगित गरिएको थियो । तर, सार्वजनिक यातायातका साधन संचालनमा रहेकाले तिर्थालुको आवागमन भने बढेको थियो ।

कोरोना संक्रमण अघि जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थितरुपमा संचालन हुने गरेको थियो । विगतका वर्षहरुमा जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेलामा जानकारी दिन डेल्प डेक्स, स्वास्थ्य शिविरलगायतको व्यवस्थापन हुने भएपनि यो वर्ष शिविर संचालन, लगायत अन्य व्यवस्थापनको काम नभएको पाइएको गोसाइँकुण्ड पुगेर फर्किएका तिर्थालुहरुले गुनासो गरेका छन् ।

यो वर्ष मेला स्थगित भएको भएपनि आएका तिर्थालुहरुलाई आफूले सबै व्यवस्थापन गरेर जान अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । ‘यो वर्ष गत वर्षको जस्तो मेला व्यवस्थापन भएको छैन, खान बस्नका लागि सबै व्यवस्था आफैंले गरेर जानुहोला, टेन्ट, लगायतका आवश्यक सबै सामान लैजानुहोला भनेर सबैलाई जानकारी गराएका थियौँ’, उनले भने, ।

मेला व्यवस्थित रुपमा संचालन नभएपनि सुरक्षालाई मध्येनजर राखेर सुरक्षाकर्मी परिचालन गरिएकोसमेत उनले बताए । गोसाइँकुण्डमा जेठ शुक्ल दशमीका दिन दशहरा र साउन शुक्ल पूर्णिमाको दिन ऋषि तर्पणी अर्थात् जनैपूर्णिमामा गरी वर्षको दुईपटक भव्य मेला लाग्छ । यी दुई दिन गोसाइँकुण्ड पुगेर पूजाआजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किवदन्ति रहेको पाइन्छ ।

कुण्डमा स्नान गरि गोसाइवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरु पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौैं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् । समुद्रिसतह देखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको गोसाइकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सूचीमासमेत सूचिकृत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर