नागरिकता लिनेको घुइँचो — OSNepal

नागरिकता लिनेको घुइँचो

Kesh Karki (USA) August 21, 2021 0

रामपुर (पाल्पा), ५ भदौ (रासस) ः इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ । तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो ।

त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएकोे छ । जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेका हुन् । रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने बढेका छन् ।

विगतमा दैनिक २५ वटासम्म नागरिकता दिइने गरेकामा अहिले दैनिक ९० वटासम्म नागरिकता दिन थालिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखको व्यवस्था नहँुदासम्म जिप्रकाले गत साउन ७ गतेदेखि बिहीबार र शुक्रबार हप्तामा दुई दिन प्रशासकीय अधिकृत खटाएर सेवा दिँदै आएको हो ।

साउन २० गतेदेखि राष्ट्रिय परिचय पत्र दिन थालिएकाले २१ गतेदेखि जिप्रकाको टोलीले यहाँ नियमित बसेर सेवा दिँदै आएको र शुक्रबारसम्म नौ सय नागरिकता जारी गरिएको निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।

सेवाग्राहीको भीड बढेकाले जिप्रकाबाट प्रशासकीय अधिकृतसहित एक नायब सुब्बा र नगरपालिकाबाट एक खरिदार पनि परिचालन गरिएको छ । अहिले अत्यधिक सिफारिससहित निवेदन परेकाले समयमै नागरिकता जारी गर्न समस्या हुँदा सेवाग्राहीले पालो कुर्नु परेको छ । आउँदो भदौ १८ गतेसम्मका लागि पुग्ने गरी निवेदन सङ्कलन भइसकेको कार्यालयले जनाएको छ । नयाँ र प्रतिलिपि लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको पाइएको छ ।

टोली आएर सेवा दिन थालेकाले यही मौकामा छोरीको नागरिकता बनाइदिएको नगरपालिकाको कार्यापालिका सदस्य सावित्रा गौतमले बताउनुभयो । “पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायाममा सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकता बनाइयो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकासहित निस्दी गाउँपालिकाको वडा नं १,२,३,४,५ तथा ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका नागरिकले सेवा लिँदै आएका उक्त कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, जनजाती प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरणलगायत काम हुँदै आएको छ ।

राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले जिप्रका जल्नुअघि नै नागरिकता बनाएर हराएका र उमेर पुगेर पनि विविध कारणले छुटेकाले पनि नागरिकता बनाएका छन् । नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण मिलाउनु पर्दा समय लागेकाले कार्यालयमा दैनिक भिड हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर