चित्रकलामै आकर्षण — OSNepal

चित्रकलामै आकर्षण

Kesh Karki (USA) August 21, 2021 0

पाल्पा, ५ भदौ ९रासस० – एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्रो फुकिरहेका किशोरले कोइला बालिरहेका छन् । उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन् । काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् । हातैले कोरिएका निकै आकर्षक ती चित्रले जो कोहीको पनि मन लोभ्याउँछ ।

ती तानसेन–१, गैरागाउँका राजकुमार खड्का अहिले सुनचाँदीको काम छाडेर चित्र कोर्न व्यस्त हुनुहुन्छ । सुनचाँदी प्रशस्त आम्दानी हुने व्यवसाय भएकाले यहाँका व्यावसायीलाई अन्य पेशामा रुचि हुँदैन तर उहाँ भने चित्रकलामै बढी सक्रिय हुनुुहुन्छ ।

वैदेशिक रोजगारीबाट फर्केपछि खड्काले विसं २०७२ देखि उक्त व्यवसाय गरे पनि चित्रकलामा पनि उत्तिकै चासो भएकाले फुर्सदमा चित्र कोर्नुहुन्थ्यो । रङ्गको प्रयोग गरिएका चित्रकलाले उत्साही त बनायो फेरी सामाजिक सञ्जालमा राखेपछि आफूलाई काम गर्न थप हौसला मिलेकोे उहाँको भनाइ छ । अहिले पाल्पाको पर्यटन क्षेत्रको विकासका निम्ति रानमीहल, अमरनारायण र तानसेनको पुरानो तथा नयाँ शहरको चित्र कोरिसक्नुभएका खडकाले यसबाट जिल्लाका पर्यटन क्षेत्रको थप प्रचार हुने अपेक्षा गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “जातीय व्यवस्था अन्त्यका लागि सचेत गराउने चित्र बनाउने रुचि छ । शान्तिका प्रतिक गौतम बुद्ध, सामाजिक रुपान्तरणका अभियानकर्मी, साधु र वृद्ध महिला तथा पुरुषको चित्र पनि विशेष रुचिका साथ कोरिरहेको छु ।”

चित्रले प्राय विचार पनि बोकेको हुन्छ । प्रत्येक चित्रका अर्थ फरकफरक हुन्छन् । पहिला प्राकृतिक चित्र धेरै कोरिएकामा अहिले त्यसमा केही नयाँपन थपिएको छ । चित्रलाई थप आकर्षक बनाउन कल्पनिक चित्रसमेत कोरिने चलन बढ्दो छ ।

यहाँ बसेर चित्र कोर्न त्यति सजिलो छैन । यसका लागि रङ्ग, बुरुस, कागज र कपडा चाहिन्छ तर यहाँ ती सामान नपाइने भएकाले बुटवलबाट ल्याउन महँगो पर्छ। काठमाडौँबाट ल्याउन अलि सस्तो पर्छ । युरोप र चीनबाट ल्याएका सामान गुणस्तरीय हुनाका साथै कोरिएको चित्रको मूल्य पनि उच्च हुने खडकाको भनाइ छ ।

तानसेन–३ वसन्तपुरका राजु रुचाल पनि चित्रकलामा माहिर हुनुहुन्छ । छिटृै चित्र कोरिदिन सक्ने उहाँ पनि कतार र मलेसिया बसाइ पछि स्वदेश फर्किनुभएको हो । बाबुको ब्यानर बनाउने कामलाई निरन्तरता दिँदा दिँदै चित्रकलालाई नै आफ्नो व्यावसाय बनाएको रुचाल बताउनुहुन्छ । पाँच वर्षदेखि व्यावसायिकरुपमा चित्र कोर्दै आउनुभएका उहाँ अहिले मासिक रू ५० हजारसम्म आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

“चित्रको मूल्य यति नै हो भन्ने छैन, रू एक हजारदेखि रू ४० हजारसम्म पर्छ । विशेष गरी आकिलिन र वाटर कलरको प्रयोग गरी चित्र कोर्ने गरेको छु । सानो चित्रलाई कम मूल्य र ठूलोलाई धेरै भन्ने छैन । मेहनतका आधारमा नै पैसाको निर्धारण हुँदै आएको छ”, रुचाल भन्नुहुन्छ ।

उहाँका अनुसार हिमाल र पहाड झल्किने चित्र, तानसेनका ऐतिहासिक सम्पदा र मानिसको चित्र मागका आधारमा कोर्ने गरिन्छ । “जे देखियो त्यही पनि बनाउन सकिन्छ तर त्यसमा विशेष अर्थ झल्किनु पर्छ”, रुचाल भन्नुहुन्छ “विदेशमा कला समीक्षकबाट कलाको समीक्षा हुँदै आएको छ तर नेपालमा अझै समीक्षा गर्ने चलनको विकास हुन सकेको छैन ।”

नेपालमा व्यावसायिकरुपमा कलाको विकासका लागि सरकारले चासो दिएको छैन । विदेशमा चित्रकलासम्बन्धी अध्ययन–अध्यापन हुँदै आए पनि नेपालमा भने तालिमसमेत सञ्चालन हुन नसकेकामा यहाँका चित्रकारको गुनासो छ ।

स्थानीय सरकारले अन्य क्षेत्रको विकासका लागि बजेटको व्यवस्था गरेकामा पर्यटकीय क्षेत्रको विकासका लागि चित्रकलालाई पनि महत्वका साथ योजनामा राखेर कार्यान्वयन गराए आफूहरूको सम्मान हुने उनीहरूको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर