साना तथा स्वरोजगारमूलक छापामाध्यम सङ्कटमा परेको एक अध्ययनले देखाएको छ ।छापा सञ्चारमाध्यमको छाता सङ्गठन नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले हालै गरेको अध्ययनले कोरोना महामारीलगायतका कारण त्यस्ता पत्रपत्रिकाको अवस्था थप धरासायी बन्दै गएको निष्कर्ष निकालेको हो ।
उक्त अध्ययन प्रतिवदनमा छपाइ कागजको अभाव, कागजको मूल्यवृद्धि, विज्ञापनको सङ्कटका साथै पत्रपत्रिका संरक्षणमा राज्यबाटसमेत स्पष्ट नीति एवं राहत प्याकेजको अभाव रहेको उल्लेख छ । सञ्जालले साना एवं स्वरोजगारमूलक मिडियाका वास्तविक कठिनाइ बुझेर वैज्ञानिक र व्यावहारिक समाधानको पहल थाल्न सरकारसँग अनुरोध पनि गरेको छ ।
पत्रपत्रिका प्रकाशन गर्ने छापाखाना बन्द हुँदा प्रकाशक, पत्रकार, कर्मचारीका आश्रित परिवारले ठूलो सङ्कटको सामना गर्नु परिरहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्ता पत्रपत्रिका लोपोन्मुख अवस्थामा पुगेको, राज्य तहबाट समानुपातिक विज्ञापनको न्यायोचित व्यवस्था हुन नसकेको, विज्ञापनको नियमित स्रोत शून्य स्थितिमा रहेको, स्वरोजगारमूलक अखबारका प्रकाशकले जायजेथा बेचेर पत्रकार–कर्मचारी पाल्नुपर्ने अवस्था रहेको, छपाइ कागज महँगो हुँदा खरिदमा समस्या रहेको प्रतिवेदनमा औँल्याएको छ ।
लोककल्याणकारी विज्ञापनको रकम समयानुकूल नभएको, साना लगानीका स्थानीय स्वरोजगारमूलक पत्रिकालाई ऋण सहज नभएको, श्रमजीवी पत्रकारको कोरोना बीमा नभएको, राज्यबाट पाउनुपर्ने उद्योगअन्तर्गतको सुविधा, विद्युत्, करलगायतका सुविधा पाउन नसकेको, व्यावसायिक ऋण दिइने प्रतिबद्धता कार्यान्वयनन भएकोे, छापामाध्यमका लगानीको सुरक्षा तथा सम्वद्र्धन नीति लागू नभएको, कोभिड–१९ का कारण न्यूजप्रिन्टमा भएको मूल्यवृद्धिले आर्थिक भार थेग्न कठिन भएको तथा साना लगानीका छापामाध्यमको सेवासुविधामा विभेदकारी नीति जस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ ।