कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा कामपा — OSNepal

कर असुल गर्न पञ्चेबाजासहित टोलटोलमा कामपा

Kesh Karki (USA) August 21, 2021 0

काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट असुल गर्न पञ्चेबाजासहित टोलटोलमा जाने भएको छ । बक्यौता रकम असुल गर्न महानगरले पटकपटक सार्वजनिक सूचना जारी गर्दासमेत सम्बन्ध भएका निकाय सम्पर्कमा नआउँदा यस किसिमको तयारी थालेको हो । आगामी बुधबारदेखि महानगरले पञ्चेबाजासहित कर असुलसम्बन्धी लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउने जनाएको छ ।

यसअघि महानगरपालिकाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटकपटक जानकारी गर्दा पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले व्यवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले महानगरले ताकेता गर्नुपरेको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिनुभयो ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घ संस्थालाई अनुरोध गरिएको छ । मुख्यगरी कर नतिर्नेमा नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।

यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तीर्न बाँकी छ । कर नतिर्ने अर्धसरकारी संस्थाले आफूहरु पनि सरकारी रहेकाले तिर्न नपर्ने जिकिर गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर