एमाले दुई टुक्रा भएपछि कार्यकता तितर बितर, को भन्दा को बलियोको लडाई सुरु — OSNepal

एमाले दुई टुक्रा भएपछि कार्यकता तितर बितर, को भन्दा को बलियोको लडाई सुरु

LC (KTM) August 20, 2021 0

तनहुँ, ४ भदौ -एमाले विभाजन भएसँगै तनहुँमा नेता तथा कार्यकर्ता दुईतिर बाँडिएका छन् । संस्थापन एमाले र प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेता तथा कार्यकर्ता बाँडिएका हुन् । कोही खुलिसके छन् भने कोही पर्ख र हेरको अवस्थामा छन् ।

तर, अहिलेसम्मको अवस्था हेर्दा तनहुँमा प्रस्तावित एकीकृत समाजवादीको तुलनामा संस्थापन एमाले नै बलियो देखिन्छ । माओवादी केन्द्रसँगको एकता भंग हुँदा एमालेको ८५ सदस्यीय जिल्ला कमिटी थियो । जिल्ला कमिटीको कार्यकारी पदमा रहेका जिल्ला कमिटी अध्यक्ष तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित केदार सिग्देल, उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, सचिव भगवती न्यौपाने र उपसचिव विष्णुभक्त सिग्देल हुन् । उनीहरु चारैजना संस्थापन एमालेमा छन् ।

संसद विघटनपछि माधव नेपाल समूहमा गएका विष्णुभक्त फेरि ओली समूहमै फर्किएका छन् । अहिले एकीकृत समाजवादी दर्ता प्रक्रियामा जाँदा उनी खुलिसकेको अवस्था छैन ।

जिल्ला कमिटीमा रहेका ३५ जना आफ्नो पक्षमा रहेको एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवम तनहुँ इञ्चार्ज प्रतापलाल श्रेष्ठले दाबी गरे । तर, करिब २२ जना जिल्ला कमिटी सदस्य मात्र समाजवादीको पक्षमा खुलेका छन् । ‘धेरै साथीहरु पहिला पार्टी एक हुन्छ भनेर खुल्नुभएको थिएन । अहिले एकीकृत समाजवादी छुट्टै पार्टी हुने भएपछि विस्तारै खुल्दै हुनुहुन्छ’, श्रेष्ठले भने ।

तनहुँका सातजना एमाले प्रदेश कमिटी सदस्य थिए । तीमध्ये शंकरनारायण श्रेष्ठ, रेखा थापा बस्याल र चित्र थापा समाजवादीमा गएका छन् । रेखा समाजवादीले निर्वाचन आयोगमा बुझाएको ९५ सदस्यीय केन्द्रिय कमिटीमा अटाएकी छन् । प्रदेश कमिटीमा रहेका जिल्ला अध्यक्षसमेत रहेका केदार सिग्देल, दुर्गा पराजुली, नारायण खनाल र राधा महत भने संस्थापन एमालेमै छन् ।

तनहुँबाट प्रतापलाल श्रेष्ठ र एकबहादुर राना एमालेको केन्द्रीय सदस्य थिए । प्रतापलाल समाजवादीमा गए । उनी पनि ९५ केन्द्रीय सदस्यको सूचीमा परेका छन् ।

प्रतिनिधिसभामा एमालेबाट तनहुँका तीनजना थिए । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित केदार सिग्देल र २ बाट कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका हुन् । समानुपातिक कोटाबाट कलिला खान पनि प्रतिनिधिसभा सदस्य बनेकी हुन् । किसान र कलिला समाजवादीमा लागेका छन् । यद्यपि, यी दुवैजनाको नाम केन्द्रीय सदस्यको सूचीमा भने अटाएन ।

श्रेष्ठ ओलीको विश्वासपात्र मानिन्थे । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि भने उनी नेपाल समूहमा लागेको खुलासा भएको थियो । खातुन एमालेले कारबाही गरेका १४ जना मध्यमा परिन् । देउवालाई मत दिएका श्रेष्ठ भने कारबाहीको सूचीमा परेनन् ।

राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संस्थापन एमालेमै छिन् । गण्डकी प्रदेशसभामा एमालेबाट निर्वाचित रामबहादुर गुरुङ र किरण गुरुङ पनि संस्थापन एमालेमै छन् । प्रदेशमा एकीकृत समाजवादी शून्य देखिन्छ । जिल्लाका १० स्थानीय तहमा एमालेका प्रमुख र उपप्रमुखमा ३–३ जनाले जितेका छन् । उनीहरु सबै संस्थापन एमालेमै छन् ।

माधव पक्षमा खुलेकी घिरिङ गाउँपालिका उपाध्यक्ष सरस्वती घिमिरे सिग्देल पनि यतिबेला माैन छिन् । वडा तहका केही जनप्रतिनिधि एकीकृत समाजवादीमा लागेका छन् । वडा तहमा शुक्लागण्डकी नगरपालिकामा एमाले समाजवादी बलियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर