मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै — OSNepal

मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै

Kesh Karki (USA) August 20, 2021 0

मुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षाेल्लासपूर्वक आजदेखि मनाउँन सुरुआत गरेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुआतसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँने गरिन्छ । केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले घरमै बसेर आज मोहर्रम पर्व मनाइने जानकारी दिनुभयो ।

उहाँले कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको बताउनुभयो । यस वर्ष पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।

मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले यस वर्ष महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताउनुभयो । यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको उहाँले जानकारी दिनुभयो । पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले मनाउन आग्रह गरिएको प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर