जसपा र एमाले विभाजन भएसँगै ह्वात्तै बढ्यो खर्च, खर्च धान्नै पर्यो धौ धौ — OSNepal

जसपा र एमाले विभाजन भएसँगै ह्वात्तै बढ्यो खर्च, खर्च धान्नै पर्यो धौ धौ

LC (KTM) August 20, 2021 0

जनकपुरधाम, ४ भदौ -जनता समाजवादी पार्टी (जसपा) र एमाले विभाजन भएसँगै प्रदेश २ सभाको खर्च बढ्ने भएको छ । नेपाली काँग्रेस, जसपा, एमाले, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी गरी पाँचवटा पार्टी रहेको प्रदेश सभामा अब सातवटा पार्टी हुने भएको छ । एमाले फुटेर एमाले समाजवादी र जसपा फुटेर जसपा लोकतान्त्रिक पार्टी प्रदेश सभामा थपिने भएको छ ।

प्रदेश सभाले दलका नेता र प्रमुख सचेतकलाई सांसदभन्दा बढी सेवासुविधा दिँदै आएको छ । यस हिसावले प्रदेश सभा सचिवालयको व्ययभार बढ्ने प्रदेशसभा सचिवालय सचिव रंजितकुमार यादवले बताए ।

निर्वाचन आयोगले दिएको दलको मान्यताको प्रमाण पत्रसहित प्रदेश सभामा दावी आएपछि अन्य पार्टीका संसदीय दलका नेतालाई दिइएको सेवासुविधा उनीहरूलाई दिइने सचिव यादवले बताए ।

प्रदेशसभा सचिवालयकाअनुसार सामान्य एक सांसदको ६५ हजार रुपैयाँसहित सम्पूर्ण सेवासुविधा मिलाएर मासिक ८३ हजार रुपैयाँ बुझने गरेका छन् । एउटा दलका नेताले तलब ६५ हजार रुपैयाँसहित सम्पूर्ण सुविधा मिलाएर दुई लाखभन्दा बढी मासिक रुपमा बुझ्दै आएका छन् । त्यसैगरी, प्रमुख सचेतकले पनि सांसदभन्दा बढी सेवासुविधा लिँदै आएका छन् । यस हिसावले पनि प्रदेश सभालाई व्ययभार बढ्ने छ ।

जसपा विभाजन भएपछि उपेन्द्र यादवको पक्षमा ४० जना सांसद पुगेका छन् । यसअघि सो पार्टीको सांसदको संख्या ३० थियो । तत्कालीन राजपाबाट १० जना यादव नेतृत्वको जसपामा नै रहने भएपछि सो संख्या बढेको हाे । दल विभाजनसँगै यादव नेतृत्वको जसपापछि दोस्रो ठूलो दल कांग्रेस नै बनेको छ ।

पूर्वसमाजवादी पार्टीका ३० जना सांसदमा पूर्वराजपाबाट १० जना थप भएका छन् । तत्कालीन राजपाबाट थपिएका सांसदमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय, सामाजिक विकासमन्त्री नवलकिशाेर साह, पूर्वराज्यमन्त्री सुरेश मण्डल, रानी शर्मा, डा. रिना यादव, अञ्जु यादव, निरा साह, बिन्देश्वर यादव (बिक्की) र मनिष सुमन छन् । ठाकुर पक्षमा हाल १४ जना सांसद रहेको देखिन्छ ।

एमालेका २१ जना सांसदमध्ये संस्थापन पक्ष (एमाले)मा आठजनामात्र छन् । १३ जना सांसदमा धवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले समाजवादीमा १३ जना छन् । प्रदेश सभा २ मा एक सय सात सांसद रहेकोमा माओवादी केन्द्रले दुईजना हटाएपछि हाल एक सय पाँचजना कायम छन् । त्यसमध्ये जसपाको ४०, काँग्रेस २२ र एमाले (समाजवादी) १३, एमाले आठजना छन् ।माओवादी केन्द्रका सात र जसपा (लोकतान्त्रिक)का १४ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादीका एक सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर