३७ प्रतिशतले लगाए कोरोनाको खोप, संक्रमण बढ्दा फितलो निषेधाज्ञा — OSNepal

३७ प्रतिशतले लगाए कोरोनाको खोप, संक्रमण बढ्दा फितलो निषेधाज्ञा

LC (KTM) August 20, 2021 0

अर्घाखाँची- जिल्लामा ३७ प्रतिशत नागरिकले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । तीव्र रुपमा चलिरहेको खोप अभियानअन्तर्गत प्रदेशमै १८ बर्ष माथि सबैभन्दा बढी अर्घाखाँचीवासीले दुबै खोप लगाएको तथ्यांकले देखाएको छ ।

१८ बर्षमाथि १ लाख १४ हजार ७ सय ५ जनसंख्या रहेको जिल्लामा ३५ हजार ९ सय ८३ जनाले पूर्ण खोप लगाएको कोरोना फोकल पर्सन विजय विकले जानकारी दिए । जिल्लामा कोभिशिल्डको पहिलो डोज १२ हजार ७ सय ५८ जनाले लगाएका छन् भने दुबै खोप लगाउने १० हजार ४ सय २२ रहेका छन् ।

यस्तै भेरोसेल खोप पहिलो मात्रा लगाउने १७ हजार २ सय ३७ रहेका छन् भने दुबै डोज लगाउने १४ हजार ६ सय ९८ रहेका छन् । यस्तै जोनसन एण्ड जोनसन खोप १० हजार ६ सय ६३ ले लगाएका छन् । योसहित अर्घाखाँचीमा पहिलो खोप लगाउनेको सख्या ४० हजार ८ सय ५८ जना पुगेको छ भने पूर्ण खोप पाउने ३१.३७ प्रतिशत अर्थात ३५ हजार ९ सय ८३ जना रहेको स्वास्थ कार्यालयका कोरोना फोकल पर्सन विकले बताए । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ५ सय ५७ पुगेको छ ।

फितलो निषेधाज्ञा

अर्घाखाँचीमा कोरोना संक्रमणका बिच निषेधाज्ञा जारी छ । तर खुलेयाम हिँड्डुल गर्ने, मास्क प्रयोग नगर्ने, निजी सवारीले भाडामा यात्रु बोक्नेजस्ता गतिविधि भइरहेका छन् । जसले संक्रमणको जोखिमलाई बढाएको छ । जिल्लामा निषेधाज्ञा भए पनि नागरिकमा स्वास्थ्य मापदण्डको पालना न्यून देखिन थालेको छ । बजारमा देखिने अधिकांश नागरिकले मास्कको प्रयोगलाई खासै ध्यान दिएका छैनन् । अर्घाखाँचीमा अहिले पूर्ण निषेधाज्ञा छ । निमार्णका सार्वजनिक सवारी अत्यावश्यकबाहेक सम्पूर्ण पसलहरु पूर्ण रुपमा बन्द गरिएको छ । तर पनि निषेधाज्ञा फितलो देखिएको छ ।

शितगंगा नगरपालिकाका स्वास्थ शाखा सह संयोजक दामोदर ढकालले संक्रमितहरु समेत बाहिर हिँड्डुल गर्ने, सक्रमित भएका घरका सदस्य खुलेयाम हिँड्ने गर्दा कोरोनाको जोखिम बढेको बताए ।संक्रमणको तेस्रो लहरको जोखिम बढिरहदा स्वास्थ्य मापदण्डको पालनालाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय ठाडाले मास्क अभियान सञ्चालन गरी मास्कसमेत वितरण गरेको छ ।

प्रहरीले मास्क नलगाई हिँड्नेलाई कारवाही गर्ने भने पनि नागरिकले स्वास्थ मापदण्ड प्रयोग गर्न कन्जुसाइ गर्ने गरेका छन् । स्वास्थ्य मापदण्डको पालनालाई प्रभावकारी बनाउने मास्क अभियान नै सञ्चालन गरिएको छ । मास्क अभियानलाई प्रभावकारी बनाउन प्रहरीको भूमिका प्रभावकारी भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिए ।

सडकमा हिँड्नेहरुलाई अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गर्ने गरेको र प्रयोग नगर्नेलाई सम्झाइ बुझाइ पठाउने गरिएको प्रहरी निरीक्षक बेल्बासेले बताए । प्रहरीले मास्कबिना भेटिएका नागरिकलाई कोरोनाको जोखिमका बारेमा सचेत पार्दै अनिवार्य मास्क लागाउन आग्रह गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर