मिडफिल्डर दिपेश एनआरटी क्लबमा अनुबन्धित — OSNepal

मिडफिल्डर दिपेश एनआरटी क्लबमा अनुबन्धित

LC (KTM) August 20, 2021 0

काठमाडौं, ४ भदौ -मिडफिल्डर दिपेशले न्युरोड टिम एनआरटी क्लबमा अनुबन्धित भएका छन् ।बिहीवार क्लबले दिपेश अनुबन्धित भएको जानकारी गराएको हो । गत सिजन ललितपुरको थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेलेका दिपेशले यस सिजनमा एनआरटीबाट खेल्ने निर्णय गरेका हुन् ।

२२ बर्षीय दिपेशले एनआर टीममा ७ नम्बरको जर्सी लगाउने छन् । गत सिजन एनआरटीबाट कप्तान प्रकाश बुढाथोकीले सो जर्सी लगाएका थिए । यस सिजन उनी कुपण्डोलको फ्रेण्डस् क्लबमा अनुबन्धित भएका छन् ।अनुबन्ध भएसँगै क्लबले दिपेशसँग गत सिजनकोझैं भब्य प्रदर्शनको आशा गरेको छ ।

‘गत सिजन उनले भब्य प्रदर्शन गरेका छन् । आशा गर्छौ, उनले सो प्रदर्शन आउने सिजनमा पनि जारी राख्नेछन्,’ क्लबले भनेको छ । यस सिजन क्लबले पुराना खेलाडीलाई निरन्तरता दिँदै केहीँ नयाँ खेलाडी समेत सार्वजनिक गरेको छ । पूर्व अन्तर्राष्ट्रिय खेलाडी राजुकाजी शाक्यको प्रशिक्षणमा रहने एनआरटीले विदेशी खेलाडीको कोटामा दुई प्रभावशाली खेलाडी अनुबन्धन गरेको छ ।

उसले पहिलो पटक आयोजना भएको फ्रेन्चाईज नेपाल सुपर लिग विजेता टोली काठमाडौं रेजर्सका उत्कृष्ट मिडफिल्डर मेसौके ओलुमोउ र स्टेफन समिरलाई टोलीमा भित्र्याई सकेको छ ।यस्तै गत सिजन मनाङ मर्स्याङ्दी र त्यसअघि थ्रीस्टारबाट खेलेका रन्जन बिष्टलाई समेत अनुबन्धन गरेको छ ।

गत महिनामात्रै क्लबले एएफसी लाईसेन्स प्रक्रियामा जान ल्याब स्कुलसँग सम्झौता गरेको थियो ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शीर्ष डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । यसपटक एन्फाले लिग विजेता टोलीको रकम बढाउँदै ७५ लाख बनाएको छ । गतसिजन लिग विजेताले ५० हजार पाएको थियो । यसपटक दोस्रो हुने टोलीले ५० हजार पाउने छ ।यस्तै १४ टोली सहभागी सिंगल राउण्ड रोबिन लिगको तालिकाको पुछारमा रहने २ टोली बी डिभिजन लिगमा घटुवा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर