१८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने — OSNepal

१८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने

LC (KTM) August 19, 2021 0

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध गराउनु हो ।”

प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उहाँले बताउनुभयो । दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुँध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिनुभयो । बाढीपहिराले प्रदेशका मनाङ, गोरखा, लम्जुङ र तनहुँ जिल्लामा बढी क्षति भएको छ । गण्डकी प्रदेश सरकारको कार्यसम्पादन सुशासनमा उत्कृष्ट बन्नुपर्छ भन्ने उद्देश्यले कार्यालयबाट दिइने सेवामा मूल्याङकन थालिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा भएका शान्ति सुरक्षा र विपद्बाट क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पोखरेलले आजै पार्टी कार्यालयमा कार्यकर्तालाई भेटघाट गरी निर्देशन दिनुभएको छ । त्यसैगरी केही दिन अघि आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोला पुल बगाएपछि त्यसको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरणम वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर