जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि उक्लिन थाले भक्तजन — OSNepal

जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि उक्लिन थाले भक्तजन

LC (KTM) August 19, 2021 0

ररसुवा-जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि नगण्यमात्रामा भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिम ध्यानमा राखी गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ । बर्सेनि १० हजारभन्दा बढी भक्तजनले स्नान गर्ने तीर्थस्थल खुला राख्दा कोरोना सङ्क्रमण झन् बढ्न सक्ने भएकाले चिकित्सकसमेतका परामर्शमा यस वर्ष विशेष मेला स्थगन गर्ने निर्णय गरिएको हो ।
सङ्क्रमणका कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने क्रम जारी रहेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताउनुभयो ।भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ । रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गर्नुपरेको हो भन्दै समिति अध्यक्ष सञ्जीव डिएमले भदौ ६ गतेको विशेष पूजाका लागि भने केही पुरोहित पठाएर निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा मेला स्थगन गरिएको हो भन्दै उहाँले संस्थागतरूपले यात्रुलाई दिइँदै आएको सेवा सुविधामा कुनै कमी हुन नदिने स्पष्ट पार्नुभयो । गङ्गा दशहरामा दश दिन र जनैपूर्णिमामा पाँच दिन विशेष मेला लाग्ने लाग्ने गर्दथ्यो । कोभिड–१९ सङ्क्रमणको पहिलो चरणमै पनि मेला स्थगन गरिएको थियो ।

देवादिदेव महादेव बिराजमान रहनुभएको पवित्र तीर्थस्थल जनैपूर्णिमाका दिन विभिन्न शक्तिपीठमा रहेका साढे तीन करोडभन्दा बढी देवदेवताको पनि सहभागिता रहने भएकाले सो दिन गरेको पूजाआजा सबै देवतालाई पनि हुने र आफ्नो मनोकाङ्क्षा पनि पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

समुन्द मन्थन गर्दा निस्केको कालकुट विष निलेर प्राणी जगत्लाई बचाउनु हुने शङ्कर भगवान् बिराजमान रहनुभएको उक्त पवित्र कुण्डमा एकपटक भए पनि पुग्नैपर्ने मान्यता रहेको छ ।स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले कोरोना सङ्क्रमण मत्थर भएपछि यस तीर्थस्थलमा जाने सोचलाई शिरोधार्य गर्न आग्रह गर्दै नजिकिँदै गरेको जनैपूर्णिमामा कुण्ड जाने मनस्थिति बनाइसकेका भक्तजनले घर नजिकका जलासयमा ‘हरहर महादेव’ भनी प्रार्थना गरेर स्नान गर्दा पनि तीर्थ पुगेसरह पुण्य मिल्ने सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर