गोप्य अंगमा लागुऔषध राखेर तस्करी गरेको प्रहरीले चालपाएपछि — OSNepal

गोप्य अंगमा लागुऔषध राखेर तस्करी गरेको प्रहरीले चालपाएपछि

LC (KTM) August 19, 2021 0
nepal police

झापामा लागुऔषध भयावह बन्दै गएको छ । भारतसँग सीमा जोडिएको जिल्ला झापमा लागुऔषध प्रयोगकर्ताको संख्या प्रत्येक वर्ष बढ्दै गएको हो । जिल्लामा भारतबाट कारोबार गरेर लागुऔषधको ‘डिलर’ नै खोल्नेको संख्या पनि उस्तै छ ।

जिल्लामा प्रहरीले लागुऔषध प्रयोगकर्ता र कारोबारीमा निगरानी बढाएसँगै यसमा संलग्न दैनिक पक्राउ पर्दै आएका छन् । खुला सीमाको फाइदा उठाउँदै विभिन्न बहानामा भारतसम्म पुग्ने र लागुऔषध बोकेर आउनेको संख्या बढेको प्रहरीले जनाएको छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले लागुऔषध कारोबारमा संलग्नमाथि निगरानी बढाएको छ । प्रहरीले निगरानी बढाएसँगै कारोबारीले समेत नयाँ शैली अपनाउन थालेका छन् । कारोबारीले शरीरको गोप्य अंगमा समेत लागुऔषध लुकाएर ल्याउन थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

२३ साउनमा दमक–१ का २४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल पक्राउ परे । मञ्जुले आफ्नो योनीभित्र प्लाष्टिकमा ४४ ग्राम ब्राउनसुगर राखेर नेपाल भित्र्याउने प्रयास गरेकी थिइन् । जुन झापामा पहिलो घटना रहेको प्रहरीको भनाइ छ । मञ्जुले यौनांगमा राखेको लागुऔषध निकाल्नका लागि प्रहरीले स्थानीय खजुरगाछी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको प्रयोग गर्नुपरेको थियो ।

यो त एउटा प्रतिधिमूलक घटना मात्र हो, जिल्लामा लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या ह्वातै बढेको डिएसपी थापाले जानकारी दिए । साउनमा मात्र २१ वटा लागुऔषधका मुद्दामा ३१ जना पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष ०७७/०७८मा लागुऔषध सम्बन्धी १९५ मुद्दामा ३०७ जना पक्राउ परेको थापाले जानकारी दिए । यो आर्थिक वर्ष ०७६/०७७ को तुलनामा ६५ प्रतिशत बढी भएको उनले बताए । आर्थिक वर्ष ०७६/०७७ मा लागुऔषधको ११८ मुद्दामा १९१ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष ०७५/०७६ मा लागु औषधसम्बन्धी १२५ मुद्दामा दुई सय जना पक्राउ परेको डिएसपी थापाले बताए ।

पछिल्लो समय प्रहरीले प्रयोगकर्ताभन्दा कारोबारमा संलग्नलाई पक्राउ गर्न तदारुकता देखाएको छ । झापामा संचालित दर्जन बढी लागुऔषधका ‘डिलर’ संचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतसँग खुला सीमा भएका कारण पनि लागुऔषध नियन्त्रणमा समस्या भएको डिएसपी थापाले जानकारी दिए । ‘भारतसँग खुला सीमा छ । त्यसले गर्दा नियन्त्रणमा निकै समस्या छ,’ उनले भने, ‘पछिल्लो समय नयाँ नयाँ शैली अपनाउनेको संख्या पनि बढेको छ । यसले हामीलाई चुनौती त थपेको नै छ । तर, हामीले लागुऔषध नियन्त्रणमा विशेष ध्यान दिएका छौं ।’

लागुऔषध प्रयोगकर्ता झापामा ह्वातै बढे पनि स्थानीय तहले यसलाई समस्याका रूपमा हेरेका छैनन । झापाका कुनै पनि स्थानीय तहले लागुऔषध नियन्त्रणका लागि केही योजना बनाएका छैनन् । झापामा सरकारी सुधारगृह नहुँदा पनि लागुऔषधको दलदलमा फसेका युवालाई सुधार गर्न निकै मुस्किल भएको प्रहरीले जनाएको छ । स्थानीय तहले भने स्रोत र साधनको अभावमा नियन्त्रणका लागि काम गर्न नसकिएको जनाएका छन् ।

‘हामीले मात्र नियन्त्रणको काम गर्न नसकिने रहेछ । प्रहरीलाई निगरानी बढाउन मात्र भन्ने हो । पहिला त विभिन्न संघसंस्थासँग मिलेर जनचेतनाको काम गर्दै आएका थियौँ । अहिले त त्यो पनि बन्द छ,’ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली भन्छन्, ‘सुधार गृह हामीले मात्र संचालन गर्न सक्दैनौं । लागुऔषधमा धनी मात्र हैन गरिबका छोराछोरी पनि छन् । सुधार गृहमा राख्दा उनीहरूलाई सबै निःशुल्क गर्नुपर्छ । हामीले धान्न सक्दैनौँ । झापामा सबै मिलेर सुधारगृह सञ्चालन गर्न सके त राम्रै हुने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर