ओली र देउवाले ल्याएका अध्यादेशमा आकाश–जमिनको फरक छ, संविधान जोगाउन अध्यादेश ल्याएका हौँ - प्रचण्ड — OSNepal

ओली र देउवाले ल्याएका अध्यादेशमा आकाश–जमिनको फरक छ, संविधान जोगाउन अध्यादेश ल्याएका हौँ – प्रचण्ड

LC (KTM) August 19, 2021 0

काठमाडौं, ३ भदौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जोगाउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । एक्काइसौ शताब्दीको मार्क्सवाद र समाजवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले ल्याएको अध्यादेशको तुलना केपी ओलीले ल्याएका अध्यादेशसँग नहुने जिकिर गरे ।

‘ओलीको ल्याउँदा बेठिक अहिले देउवाको ल्याउँदा ठिक भन्ने कुरा आयो । एउटा अध्यादेश लोकतन्त्र सिध्याउन थियो, संविधान सिध्याउन थियो । गणतन्त्र सिध्याउन आएको थियो,’ प्रचण्डले भने, ‘यो अध्यादेश लोकतन्त्र जोगाउन हो । संविधानको रक्षा गर्न हो । गणतन्त्र संस्थागत गर्न हो ।’

उनले दुबै अध्यादेशलाई उस्तै भन्न नमिल्ने तर्क गरे । ‘लोकतन्त्र सिध्याउने र संस्थागत गर्ने फरक कुरा हो,’ प्रचण्डले भने ।अध्यक्ष प्रचण्डले छिट्टै मन्त्रिपरिषद विस्तार हुने पनि बताए । ‘अहिले नयाँ परिस्थिति बनेको छ । आज विहान बालुवाटारमा प्रधानमन्त्रीसँग माधवजी र म बस्यौं । मन्त्रिपरिषद् विस्तारमा अब ढिलो गर्नुहुँदैन भन्ने कुरा भएको छ । माधवजीको नयाँ दल दर्ता सनाखत भएकै दिन विस्तार हुन्छ । जति चाँडो सनाखत हुन्छ, त्यति चाँडो मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने ।

प्रचण्डले अहिले पनि आफूहरु प्रतिगमनविरुद्ध लडिरहेका उल्लेख गरे । ‘पहिला परिवर्तन संस्थागत गर्न लागौं । त्यसका लागि विचलन र विसर्जनको दिशामा जानबाट सतर्क हुनुपर्छ,’ उनले भने ।कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मार्क्सवाद र समाजवादबारे लामो व्याख्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर