काठमाडौं, २ भदौ ।नेकपा एमालेका विभाजन गरेर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता प्रक्रिया अगाडि बढाएपछि उनको साथ छोड्नेको संख्या बढ्दो छ ।
खासगरी एमाले जोगाउने कसरतमा रहेका कार्यदलका सदस्य भीम रावलसहित नेताहरु नेपाललाई साथ नदिने निष्कर्षमा पुगेका छन् । अरु त अरु नेपाललाई उनकै सम्धी सोमप्रसाद पाण्डेयले साथ नदिने भएका छन् ।
नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पेस गरिएको केन्द्रीय समितिको नामावलीमा पाण्डेयको नाम छैन ।
साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ सदस्य रहनेगरी प्रस्तावित केन्द्रीय समितिमा पाण्डेयको नाम छैन । पाण्डेयले नयाँ पार्टी खोल्ने निर्णयमा असन्तुष्टि जनाएका हुन् । एमालेमै रहेर अध्यक्ष केपी ओलीविरुद्ध संघर्ष गर्नेपर्ने उनको मान्यता रहिआएको छ ।
माधव नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादी पार्टीमा प्रदीप नेपालले भने साथ दिएका छन् । उनको नाम केन्द्रीय सदस्यको सूचीमा समावेश छ ।