भारतबाट सहजै नेपाल आउँछन् भारतीय, नाका सिल भए पनि भारतीयहरु नेपाल आउँदा जोखिम बढ्यो — OSNepal

भारतबाट सहजै नेपाल आउँछन् भारतीय, नाका सिल भए पनि भारतीयहरु नेपाल आउँदा जोखिम बढ्यो

LC (KTM) August 18, 2021 0

झापा, २ भदौ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले भारतसँगको सीमामा आवतजावत रोक लगाएको छ । सीमा सिल गरेर सुरक्षाकर्मी परिचालन गर्दै आवतजावत पूर्ण रूपमा बन्द गराएको छ ।

भारतसँग १४४ किलोमिटर खुला सीमा भएको झापामा आवतजावतका लागि पूर्वको काँकडभिट्टा नाकालाई तोकिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पनि निषेधाज्ञा सम्बन्धि आफ्नो निर्णयमा काँकडभिट्टा नाकाबाहेक अन्य गौडा र नाकाबाट आवतजावत पूर्णरूपमा बन्द गरेको जनाएको छ । तर, झापाको दक्षिणी क्षेत्रमा भारतबाट आउने र भारत जाने क्रम रोकिएको छैन । पूर्वमा भारतको पश्चिम बंगाल र दक्षिणमा बिहार राज्यसँग जोडिएको छ, झापा । तुलनात्मक रूपमा दक्षिणी सीमामा आवतजावत बाक्लो देखिन्छ ।

भारतीयहरू विना अवरोध सहजै नेपाल आइरहेका छन् । विभिन्न बहाना देखाउँदै भारतबाट नेपाल आउने क्रम नरोकिएको भारतसँग जोडिएको बाह्रदशी गाउँपालिका–१ का वडाध्यक्ष शम्भुसिंह राजवंशी बताउँछन् । ‘विभिन्न बहानामा सुरक्षाकर्मीको आँखा छलेर आउने क्रम रोकिएको छैन,’ उनी भन्छन्, ‘आएकाहरू गाउँबस्तीमा पस्दा कोरोना संक्रमण फैलने खतरा छ ।’

झापामा संक्रमण दर उच्च छ । अहिले पनि सक्रिय संक्रमित तीन हजार बढी छन् । तर, सतर्कता भने पर्याप्त छैन । कोरोना संक्रमण दर उच्च रहेको भारतबाट सीमावर्ती गाउँमा सहजै आउने जाने क्रम छ । विशेष गरी दक्षिणीका बस्तीमा भारतको बिहार राज्यका विभिन्न गाउँका नागरिक अनेकबहानामा आउने गरेका छन् । ‘बेलुका भएपछि सीमवर्ती क्षेत्रमा भारतीयको भीड नै हुन्छ । रक्सी खानाका लागि उनीहरू सधैँ नेपाल नै आउँछन्,’ कचनवकल–१ का अनन्तप्रसाद राजवंशी भन्छन्,‘खोई प्रशासनले पनि केही गरेको देखिँदैन ।’

भारतीयहरू सीमावर्ती नेपाली बजारसम्म आउँछन् । जसले संक्रमण दर बढ्ने खतरा छ । दक्षिणी क्षेत्रका नागरिक सुरक्षा मापदण्ड पनि कमै पालना गर्छन् । शिक्षाको कमिका कारण कोरोनाविरुद्धको खोप पनि लगाउन नमानेको बाह्रदशी–१ का वडाध्यक्ष राजवंशी बताउँछन् । ‘सीमा क्षेत्रका नागरिकमा चेतना अभावका कारण खोप लगाउनुपर्छ भन्ने नै छैन,’ उनी भन्छन्, ‘बल्ल बल्ल केहीले लगाउँछन् ।’

खोप नलगाएका, सुरक्षा सतर्कता पनि नपनाएको ठाउँमा भारतबाट सहजै आवतजावत हुँदा संक्रमण बढ्न सक्ने जोखिम छ । सुरक्षाकर्मीले पनि विगतमा जस्तो कडाई नगरेको भारतको बिहारबाट बाह्रदशीस्थित राजगढ बजार आएका हसन राजा बताउँछन् । ‘अलिअलि त सोधखोज ग¥यो । तर, नेपालमा पारिवारिक काम छ भनेपछि आउन दियो,’ उनी भन्छन्,‘पहिला त जान आउन निकै गाह्रो थियो । अहिले त्यति समस्या छैन ।’

तर, जिल्ला प्रशासन कार्यालय झापाले भने सीमामा समस्या नभएको जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सीमाको निगरानीमा करिब सात सय सशस्त्र प्रहरी खटिएको बताए । ‘सीमामा समस्या छैन । १८ वटा बीओपी र ४० वटा एफओपी छन् । काँकडभिट्टाबाट मात्र आवतजावत हुन्छ,’ उनले भने, ‘गत साल सीमामा केही समस्या थियो । यसपाली छैन । नाकामा आवतजावत पूर्ण रूपमा ठप्प छ ।’

क्याप्सन : भारतको बिहारबाट नेपालको बाह्रदशीस्थित राजगाढ आएर फर्कँदै भारतीय नागरिक । केही दिनअघि उनीहरू नेपाल–भारत सीमा नजिक बाह्रदशी–१ मा भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर