पुन - भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन — OSNepal

पुन – भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन

Kesh Karki (USA) August 17, 2021 0

विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड–१९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ । सङ्क्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा सङ्क्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् ।

जिल्लामा दिन प्रतिदिन कोभिड–१९ को सङ्क्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभो । “विगतमा शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर अहिले बढिरहेको छ,” उहाँले भन्नुभयो, “केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना सङ्क्रमितका बिरामी छन् भने दुई जनालाई अक्सिजन दिनु परिरहेछ ।”

जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरनालगायत स्थानीय तहले निर्माण गरेको कोभिड–१९ का आइसोलेशन कोभिड–१९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड–१९ सङ्क्रमण दर बढेको स्थानीयवासी रामबहादुर शाहीले बताउनुभयो । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “कोभिड–१९ को सङ्क्रमण दर बढ्दै गएमा केही दिन थप निषेधाज्ञा हुनेछ,” उहाँले भन्नुभयो, “कोभिड–१९ को नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको भए पनि नियन्त्रणमा आउन सकेको छैन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर