चिकित्सक पढाउने पाठ्यक्रम बनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान — OSNepal

चिकित्सक पढाउने पाठ्यक्रम बनाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

LC (KTM) August 17, 2021 0

जुम्ला ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पश्चिम नेपालकै चिकित्सा क्षेत्रका विभिन्न विधामा पाठ्यक्रम बनाउन थालेको छ । प्रतिष्ठानले पछिल्लो समय स्नातकोत्तर नर्सिङ तहको पाठ्यक्रम निर्माणका लागि जुम्लाबाटै शुरु गरेको हो ।

स्नातकोत्तर तहको पाठ्यक्रम बनाउन जुम्लामा एक दर्जन बढी चिकित्सा क्षेत्रका प्राध्यापकहरु, सहप्राध्यापकहरु र कर्णाली प्रतिष्ठानका विभिन्न विभागका प्रमुख विज्ञहरु जुटेका छन् । प्रतिष्ठानले नर्सिङ तहको उच्चस्तरको कक्षा सञ्चालन तथा पश्चिम नेपालमै पाठ्यक्रम प्रवर्द्धन गर्न जुम्लामा केन्द्रीत भएर पाठ्यक्रम बनाउन शुरु गरेको छ ।

जुम्लामा एक औपचारिक कार्यक्रम गरेर प्रतिष्ठानले मास्टर्स अफ नर्सिङ तहको पाठ्क्रम तयारीको अन्तिम चरणमा रहेको बताएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले यसपटक स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन जुम्लामा शुरु गरिएको बताए ।

उनले भने, ‘कर्णालीको चिकित्सा क्षेत्रमा अर्को माइलस्टोन शुरु भएको छ । उनकाअनुसार प्रतिष्ठानले आफैं एमबीबीएस, बी फार्मा, बीएनएस, बीएमएस, बीपीएच, एमडीएमस, एमएससी इपिडिमियोलोजी, ब्याचलर न्यूट्रेसन लगायत विभिन्न पाठ्यक्रमहरु यसअघि नै बनाइसकेको छ ।

उनले थपे, ‘अब स्नाकोत्तर नर्सिङ तहको पाठ्यक्रम बनाउन थालिएको छ । जुम्लामा बनाएको पाठ्यक्रमले चिकित्सा क्षेत्रमा पश्चिम नेपालमै लागु हुने र स्तरीय हुने अपेक्षा छ ।’ जुम्लामा बनेको पाठ्यक्रम भने केही भूगोल केन्द्रीत समेट्न सकिनेमा प्रतिष्ठानका पदाधिकारीको दाबी छ । प्रतिष्ठानले जुम्लामा गत बर्ष बीएनएस तहको पाठ्यक्रम बनाएको थियो ।

त्यस्तै प्रतिष्ठानका नर्सिङ डीन स.प्रा.डा सरस्वती गौतमले नर्सिङ पेशा जति माथि गए पनि स्याहार सुसार र विरामीको सुरक्षामा केन्द्रीत हुने बताइन् । उनले जुम्लामा आफ्नै हातबाट पाठ्यक्रम बनाउन पाउँदा खुसी व्यक्त गरिन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो ब्याचमा प्रविणता प्रमाणपत्र तहबाटै शिक्षा शुरु गरिएको थियो ।

जुम्लाको होटल कान्जिरोवामा शुरु भएको दुई दिने पाठ्यक्रम विकास कार्यशालमा नर्सिङ डीन गौतमले नर्सिङ उच्च तहको पाठ्यक्रमलाई अन्तिम रुप दिने बताइन् । उनले भनिन, ‘यो पनि प्रतिष्ठानको कोसेढुंगाको पानमा दस्तावेजीकरण हुनेछ ।’

सहायक प्राध्यापक डाक्टर शर्मिला जोशीले प्रतिष्ठान र विज्ञहरुले तयार पारेको मस्यौदा प्रस्तुत गरेकी छन् । उनले दुई बर्षको उक्त पाठ्यक्रम बढीभन्दा बढी व्यवहारिक नैतिक शिक्षामा केन्द्रीत हुने बताइन् ।

जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले प्रतिष्ठानले जुम्लाको सौभाग्य कोरेको बताए । उनले कुनै बेला डाक्टर नपाएर जुम्लीको शव एकहप्ता कुहिने गरेको स्मरण गर्दै भने, ‘जुम्लाले अहिले डाक्टर उत्पादन गरेर अरु ठाउँमा पठाउने भयो ।’

पाठ्यक्रमको मस्यौदामा सुझाव दिँदै उनले जुम्लामै पाठ्यक्रम तयार हुनु कर्णालीका लागि गर्वको कुरा भएको बताए । कर्णाली प्रतिष्ठानको काममा पारदर्शितामा अझै जोड दिनुपर्ने उनको सुझाव थियो । पाठ्यक्रमको मस्यौदामाथि स्वास्थ्य तथा जनसंख्या बरिष्ठ अस्पताल नर्सिड प्रशासक सकुन्तला गौतम, कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य क्षेत्रका डीन मुनीराज क्षेत्री लगायत विभिन्न विज्ञहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर