गरिखाने अभियानलाई देशभर विस्तार गर्न माग — OSNepal

गरिखाने अभियानलाई देशभर विस्तार गर्न माग

Kesh Karki (USA) August 16, 2021 0

राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने उद्देश्यले शुरु गरिएको गरिखाने अभियानलाई देशभर विस्तार गर्नु पर्नेमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले जोड दिएका छन् । नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ले यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी जिल्ला सभापतिहरुले लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकको दीर्घकालीन हितलाई लक्षित गर्दै काम गरिरहेकाले यस अभियानलाई देशव्यापी बनाउनुपर्ने सुझाव दिनुभएको हो ।

कार्यक्रममा समितिका सभापति एवं सांसद विनोद चौधरीले युवालाई उद्यमशील बनाएर मात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । “प्रजातन्त्र स्थापनासँगै २०४८ को आम निर्वाचनबाट बनेको नेपाली कांग्रेसको सरकारले तत्कालीन अवस्थामा अङ्गीकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ”, उहाँले भन्नुभयो,“राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो । हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ ।”

सभापति चौधरीले हरेक वर्ष चार लाख युवा श्रम बजारमा आउने भए पनि देशभित्र मुस्किलले ५० हजार वार्षिक रोजगारी पनि सिर्जना हुन नसकेको अवस्थामा नवीन सोच भएका युवालाई उद्यमशील बनाउन गरिखाने अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । उहाँले चालू आर्थिक वर्षको मौद्रिक नीतिले रु २५ लाखसम्मको स्वरोजगार कर्जालाई धितो नचाहिने व्यवस्था गरेकाले यो व्यवस्था उद्यमशीलता विकासका लागि सहयोगी हुने उल्लेख गर्नुभयो । कार्यक्रममा समितिका सहसंयोजक दीपक खड्काले राजनीतिक परिवर्तनमा सधैँ अगुवा र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले नै आर्थिक विकासको नेतृत्व लिनसक्ने बताउनुभयो । समितिका अर्का सहसंयोजक इन्द्र बानियाँले आफू समाजको सेवाका लागि राजनीतिमा आएको र जीवन निर्वाहका लागि व्यवसाय गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति दिनेश यादव, ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य, रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकलगतयतले यस अभियानलाई सफल बनाउन पार्टीपङ्क्ति सिङ्गो रूपमा परिचालित हुनुपर्ने धारणा राख्नुभएको थियो ।

उद्यमशीलता विकासका लागि सीप, पुँजी, प्रविधि, बजारलगायत सबै पाटोमा स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, दातृ निकाय तथा अन्य सरोकारवालासँग मिलेर काम अघि बढाउन उहाँहरूले तत्परता देखाउनुभएको छ । कार्यक्रममा २३ भन्दा धेरै जिल्लाका सभापतिहरू उपस्थित हुनुहुन्थ्यो । हाल यो अभियान पर्सा, मकवानपुर, झापा, धनकुटा, काभ्रे, काठमाडौँ, कास्की, नवलपुर, रुपन्देहीलगायत जिल्लामा सञ्चालन गरिएको छ । युवालाई उद्यमशील बनाउन उदाहरणीय कार्यक्रमका रूपमा ‘गरिखाने अभियान’ अघि बढाएको समितिका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमार्फत् उद्यमशीलता विकासमैत्री वातावरणका लागि सरकार तथा सरोकारवालालाई सल्लाह–सुझाव, परामर्श गर्नुका साथै पैरवी गरी राजनीतिक परिचालन कार्यक्रम, उद्यमशीलता विकाससम्बन्धी विभिन्न अनुशिक्षण तथा प्रशिक्षण कार्यक्र सञ्चालन गरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर