धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार — OSNepal

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

Kesh Karki (USA) August 16, 2021 0

धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उच्च भएपछि सेवा थप गरिएको धौलागिरि अस्पतालले जनाएको छ ।

डाइलासिस सञ्चालनका लागि जनशक्तिको अभाव भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । “ गण्डकी प्रदेश सरकालाई हामीले मन्त्रालयमै पुगेर अस्पतालको समस्या र तत्काल आवश्यक उपकरण पठाउन आग्रह गरेका थियौँ, स्वास्थ्य मन्त्रालयले दुई डायलासिस मेसिन पठाएको छ”, उहाँले भन्नुभयो, “अस्पतालका अनुगमनमा आउनुभएको मन्त्री मधुमाया अधिकारीले डायलासिस कक्षका क्षमता बढाउने औजार उपकरण पठाउने आश्वासन दिनुभएको छ ।”

विसं २०७५ वैशाखबाट अस्पतालमा सुुरु भएको अस्पतालको डायलासिस कक्ष विस्तार नहुँदा १८ जनासम्म बिरामीले पालो कुर्नुपरेको अवस्था थियो । यसलाई सम्बोधन गर्न उपकरण थप भएको र बिरामीलाई राहत मिलेको स्वास्थ्यकर्मी दिपिका गौतमले जानकारी दिनुभयो । “डायलासिस कक्षका लागि छुट्टै जनशक्ति नहुँदा केही समस्या छ, आवश्यक पर्दा अन्य मेडिकल डाक्टर सहयोग गर्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “अहिले नियमितरुपमा १८ बिरामीले नियमित सेवा पाइरहेका छन्, कसैको हप्तामा दुईपटक र कसैको तीन पटकसम्म बिरामीको अवस्था हेरेर डायलासिस गर्नुपर्ने हुन्छ ।”

चार श्याको डाइलासिस कक्ष हुँदा दैनिक आठ जनाले डायलासिस गर्दै आएकामा अब न्यूनतम १५ ले दैनिक सेवा लिनसक्ने जनाइएको छ । अस्पतालमा डायलासिस हुँदा आफूलाई निकै सहज भएकोे पर्वत जलजला गाउँपालिकाका दिलबहादुर खत्री बताउनुभयो ।

दुवै मिर्गाैला फेल भएपछि प्रत्यारोपण नगरुञ्जेल बिरामीलाई नियमित डायलासिस गर्न आवश्यक हुन्छ । आर्थिक हैसियत भएका बिरामीले आफूलाई मिल्ने मिर्गौला प्रत्यारोपण गर्ने भए पनि प्रत्यारोपण गर्न नसक्नेले जीवनभर नियमित डायलासिस गर्नुपर्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर