मोटरसाइकल चोरेर भारततर्फ विक्री गर्नेहरुको संख्या बढ्यो, भारत बेच्न लैजाँदै गर्दा यि चोरलाई समात्न सफल भयो प्रहरी — OSNepal

मोटरसाइकल चोरेर भारततर्फ विक्री गर्नेहरुको संख्या बढ्यो, भारत बेच्न लैजाँदै गर्दा यि चोरलाई समात्न सफल भयो प्रहरी

LC (KTM) August 16, 2021 0

पर्सा ।जिल्लामा पछिलो समय मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ । प्लसर लगायतका १५० सीसीदेखि माथिका मोटरसाइकल सबैभन्दा बढी चोरी हुने गरेका छन् ।

खुल्ला सीमानाका कारण चोरिएका मोटरसाइकल भारततर्फ लैजान, सीमा कटाउन सहज भएकाले पछिलो समय चोरीका घटना बढेका हुन् । प्लसर, बजाज, एमाहालगायतका कम्पनीको १ सय ५० सीसीभन्दा माथिको नयाँ मोटरसाइकल चोरहरुको पहिलो रोजाइमा हुने गरेको छ ।

सीसीटिभी भएको सदरमुकाम वीरगन्जको मुख्य सडक तथा चोकमा चोरीका घटना कम भए पनि नगरको भित्री क्षेत्र र ग्रामिण भेगमा भने चोरी हुने क्रम रोकिएको छैन ।

जिल्लामा मोटरसाइकल चोरीका घटना बढिरहेका बेला प्रहरीले चोरीमा संलग्न भएको अभियोगमा दुई जना युवकलाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट चोरी गरिएको चार थान मोटरसाइकलसहित पक्राउ परेका वीरगन्ज महानगरपालिका ३० प्रसोतिपुरका २० वर्षीय आकाश पटेल र २१ वर्षीय कृष्ण पटेललाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।

जिल्लाको विभिन्न स्थान तथा विभिन्न समयमा चोरीका मोटरसाइकल विक्रीका लागि आकाशले आफ्नै घर परिसरमा लुकाइछिपाई राखेको पूर्व सूचनाको आधारमा छापा मार्दा बा ४१ प ५२६३, ना १६ प ३३६७, ना १४ प ८४ र गा १ प ७६९४ नम्बरको ४ थान मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

पक्राउ परेका दुबै युवकमाथि थप अनुसन्धान भइरहेको छ । आकाशको वयानका आधारमा प्रहरीले मोटरसाइकल चोरी तथा विक्रीमा संलग्न भएको भन्दै कृष्णलाई पनि नियन्त्रणमा लिएको हो । दुबैमाथि प्रहहरीले चोरी मुद्दा चलाउने तयारी गरेको छ ।

तथ्यांकमा बढ्यो चोरी

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७७/०७८मा २ सय ४३ प्रतिशतले चोरीका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/०७६मा ३७ वटा, २०७६/०७७मा ६९ र २०७७/०७८मा ९० वटा मुद्दा दर्ता भएको छ । खुल्ला सीमानाका कारण नेपाली भूभागबाट चोरी गरिएको मोटरसाइकल भारततर्फ लैजान सहज भएकाले घटनामा वृद्धि हुँदै गएको प्रहरीको निष्कर्ष छ ।

नेपालमा चोरीको मोटरसाइकल भारतमा सहजै ३० देखि ४५ हजार सम्ममा विक्री हुने गरेकाले पछिलो समय चोरीमा युवाहरुको सहभागिता बढेको र चोरीमा संलग्न भएर समातिएकाको उमेर औसत २० देखि ३५ वर्ष समूह रहेको प्रहरीको अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर