काठमाडौँ ३१ साउन । नेकपा एमालेले बेलायतमा लामो समय देखि आन्दोलन गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ती जारी गरी भूतपूर्व गोर्खा सैनिकको विषयमा सरकारको ध्यानाकषर्ण गराएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ , ‘बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःख, कष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय छ ।’
विज्ञप्तीमा पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नु भएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसंग स्मरणीय रहेको समेत उल्लेख गरिएको छ ।