काठमाडौं ३१ साउन । राष्टिय प्रजातन्त्र पार्टी राप्रपाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।
आज आइतबार राप्रपा अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै सरकारसँग माग गरेका हुन् ।
तालिबानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे आफ्नो पार्टी चिन्तित भएको भन्दै विज्ञप्तीमा भनिएको छ, अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरूको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।
त्यसैगरी, विज्ञप्तीमा ब्रिटिश गोर्खाका पूर्व सैनिकहरूले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आइरहेको भन्दै उनीहरूका माग पूरा गर्न बेलायती सरकारसँग माग समेत गरेका छन् ।