माधव नेपालका कारण अड्कियो मन्त्रीमण्डल विस्तार ! — OSNepal

माधव नेपालका कारण अड्कियो मन्त्रीमण्डल विस्तार !

LC (KTM) August 15, 2021 0

काठमाडौं – सरकार गठनको एक महिना पुग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न सक्नुभएको छैन । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास जारी रहेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ । यो समाचार नेपाल समाचारपत्रले प्रकाशित गरेको छ।

नेपाल समूहले सरकारमा सहभागी हुने/नहुने कुनै निर्णय गर्न सकिरहेको छैन । सो समूहलाई सरकारमा सहभागी नगराएको खण्डमा सरकारले संसद्मा ल्याउने विधेयक पास हुन सक्ने अवस्था नरहने भन्दै प्रधानमन्त्री देउवाले केही दिन कुरेरै नेपाल समूहलाई सरकारमा सहभागी हुने नीति लिएको बताइएको छ ।

नेपाल समूहलाई सरकारमा ल्याउन सरकार गठन भएको यस अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर दर्जनौंपटक भेटवार्ता गरिरहनुभएको छ । तर, नेपाल समूहमै सरकारमा सहभागी हुने विषयमा मतभेद रहेको छ ।

मन्त्रीमण्डल विस्तारमा नेपाल समूहको प्रतीक्षा भइरहेका बेला यता पार्टीभित्रको आन्तरिक विवाद पनि समाधान हुन सकिरहेको छैन । पार्टीको केन्द्रीय कमिटीको बैठकले विधान सम्मेलन गर्ने निर्णय गर्दै स्थानीय पार्टी कमिटीमा पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई समान अधिकारसहितको अध्यक्ष मान्न नसकिने अडान लिएपछि एमालेको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेपाल समूहले दैनिकरूपमा छलफल जारी राखे पनि पार्टी एकता गर्ने वा देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा निर्णय गर्न सकिरहेको छैन । माधव समूहका सांसद मेटमणि चौधरी देउवा सरकारलाई विश्वासको मत दिएका कारण सरकारमा पनि सहमति हुनुपर्नेमा एकमत रहेको बताउनुहुन्छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले नै सरकारमा सहभागी हुनुपर्ने दबाब नेता नेपाललाई दिँदै आएका छन् । नेपाल समूहभित्र नै सरकारमा सहभागी हुने नहुने विषयमा विवाद हुँदा सरकार गठन भएको एक महिनाको अवधिमा पनि नेपाल समूहले कुनै निर्णय लिन सकिरहेको छैन ।

सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि मन्त्री बन्ने विषयलाई लिएर विवाद रहेको छ । कांग्रेस माओवादी र जसपाले मन्त्री छनोट गर्न नसक्दा त्यसको बहाना भने नेपाल समूहलाई सरकारमा सहभागी गराउनका लागि ढिला भएको बताउने गरिएको छ । तर, नेपाल समूहका एक नेता मन्त्रीमण्डल विस्तार गर्न आफूहरु बाधक नभएको बताउँछन् । शुरुमा माधव नेपालले मन्त्रीमण्डललाई पूर्णता दिएर अगाडि बढ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको हो, तर के कारणले हो अझै मन्त्रीमण्डल विस्तार हुन सकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर