डेढ महिना नबित्दै भत्कियोे पर्खाल — OSNepal

डेढ महिना नबित्दै भत्कियोे पर्खाल

Kesh Karki (USA) August 14, 2021 0

दोर्पास्थित बुवालुङमा सञ्चालित अन्नपूर्ण माविको पर्खाल निर्माण सम्पन्न गरेको डेढ महिना नबित्दै भत्किएपछि अहिले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्माण उपभोक्ता समिति तथा विद्यालयको चर्को आलोचना भइरहेको छ ।

सङ्घीय सरकारको सशर्त अनुदानअन्तर्गत नगरपालिकाबाट गत वर्ष विनियोजित रु २० लाख १६ हजार रकममा निर्माण गरिएको पर्खाल निर्माण उपभोक्ता समितिको लापरवाहीले भत्किएको बताइएको छ ।

“असार २९ गते फरफराक, साउन ७ मा भत्कियो । अब भन्नुस् ! यसको जिम्मेवार को हो ?” दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका गजेन्द्र राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “स्कूल प्रशासनलाई सोध्दा थाहा छैन भन्छ । स्कूलको हाताभित्र स्कूल प्रशासनलाई थाहा नदिई निर्माणको काम हुन्छ कि हुँदैन ? जसले गरे पनि कामको दिगोपनाका बारेमा सचेत हुनुपर्छ ।”

भौगोलिक अवस्थाका कारण सो विद्यालयको भवन तल्लो र माथिल्लो गह्रामा निर्माण गरिएका छन् । तल्लो भवनको अगाडि यसअघि नै खेलमैदान निर्माण गरिएको थियो । खेलमैदानको भित्तामा करिब दुई मिटर अग्लो पर्खाल उठाइएको छ । नवनिर्मित पर्खाललाई माथिबाट खसेको ढुङ्गामाटोसहितको भलबाढीले पुरेपछि क्षति भएको विद्यालयका प्रधानाध्यापक रेखादेवी बस्नेतले बताउनुभएको छ । “नगरपालिकाबाट प्राप्त बजेमार्फत तत्लो गह्राको खेलमैदानबाट माथिल्लो भवनमा निस्कने सिँढी निर्माण गरिएको थियो”, उहाँले भन्नुभयो, “भलबाढीका कारण सिँढीको दायाँ–बायाँ पनि चर्किएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”

उहाँका अनुसार माथिल्लो भवन रहेका डिलमा विद्यार्थीलाई लड्नबाट जोगाउन पेटीजत्रो ढलानमा फलामको खम्बा गाडेर तारजालीको बार हालिएको छ । बिना रड हालिएको उक्त तारजालीको विभिन्न भागको सिमेन्टको जग भलबाढीका कारण चर्किएको र भत्किएको देख्न सकिन्छ । विद्यालयका डिलमा निर्माण गरिएका कतिपय खम्बा र तारजाली खेलमैदानको डिलमा झुण्डिएका छन् । निर्माण उपभोक्ता समितिले रकम बचत गर्न सिमेन्टका पर्खालमा जग नहाली माटोमाथि तारजालीको बार हालेका कारण उक्त पर्खाल भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

माथिल्लो गह्रामा भल जाने ठाउँ नबनाएका कारण वर्षामा जमेको पानीले खोतलेर मुनिका पर्खाल तथा सिँढीमा क्षति पुगेको देखिन्छ । वर्षा सुरु हुनुअघि बनाइएको पर्खाल र सिँढी भलबाढीका कारण जीर्ण बनेको पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुमाया थापाले दाबी गर्नुभएको छ ।

विद्यालयको पर्खाल तथा सिँढीको काम गुणस्तरीय र स्टिमेटभन्दा बढी भएको वडाध्यक्ष लीलाकुमार चौहानले जानकारीदिनुभयो । “लगातारको वर्षापछि आएको भलबाढीका कारण विद्यालयको पर्खालमा सामान्य क्षति भएको छ”, उहाँले भन्नुभयो, “पुनः मर्मत गर्न करिब रु ५० हजार खर्च लाग्ने देखिएको छ । भत्किएको विद्यालयको पर्खाल तत्काल मर्मत गर्न उपभोक्ता समितिलाई लगाएको छु ।”

यस वर्ष परेको लगातारको वर्षाका कारण जिल्लाका अधिकांश विकासे योजनाको काममा क्षति पुगेको स्थानीय बासिन्दाले बताएका छन् । विनियोजित बजेट सकाउन आर्थिक वर्षको अन्त्यमा हतारहतार अधिकांश विकास निर्माणका योजनाको काम गर्दा भलबाढीले क्षति पु¥याएको हो । वर्षाका कारण जिल्लामा भएका विकासे योजनाका क्षतिमध्ये सबैभन्दा बढी सडकमा पुगेको छ । हिउँदभर निर्माण गरिएका अधिकांश सडक वर्षा लागेसँगै आएको भलबाढीले बगाएको बताइएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर