नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा अनन्तप्रसाद गजुरेल निर्वाचित हुनुभएको छ । समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार डा गजुरेल ३७१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी डा सुधीर रजौरेले २७२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, उपाध्यक्षमा मनिका झा (३९५ मत) महासचिव डा लोकविजय अधिकारी (३९६ मत) ल्याई विजयी हुनुभएको निर्वाचन उपसमिति संयोजक शिवकुमार बाँस्कोटाले राससलाई जानकारी दिनुभयो । यसैगरी, उपमहासचिमा सविना खत्री, कोषाध्यक्षमा आशिष केसी र तीन सदस्यमा इन्द्र लम्साल, अर्जुन भण्डारी र सौरभ खनाल हुनुभएको छ । निर्वाचन हुने आठ पदमध्ये उपमहाचिव र सदस्यबाहेक अन्य सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनीत गर्नेछन् । आठ सयभन्दा बढी मतदाता रहेको समाजको निर्वाचनमा ६४३ मत खसेको थियो । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष डा गजुरेलले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भूगर्भविद्ले विशेषतः बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।