कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्नुस् तर कमजोर नबन्नुस् - प्रहरी महानिरीक्षक क्षेत्री — OSNepal

कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्नुस् तर कमजोर नबन्नुस् – प्रहरी महानिरीक्षक क्षेत्री

LC (KTM) August 11, 2021 0

मोरङ, २७ साउन-प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिन उल्लेख गर्दै लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न विशेष चनाखो हुनुपर्ने र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्दै नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसँग समन्वय गरी शिष्ट व्यवहारका साथ नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्न बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अनुसन्धान पद्धतीलाई प्रविधीमैत्री, प्रमाण र परिणाममूखी बनाउँदै सुरक्षा व्यवस्था मिलाउन सशक्त रुपमा काम कारवाही गर्न समेत निर्देशन दिनुभयो । बाढी, पहिरो, डुवान लगायतका घटनामा उद्धार टोली र उद्धार सामग्रीहरु सहित तयारी अवस्थामा रहन तथा कोभिड-१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले १ नम्बर प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षण गर्नुका साथै तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी एवं प्रशिक्षार्थीहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । सोही अवसरमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले तालिम केन्द्रको गतिविधी सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर