यतिबेला चर्चित फुटबलर लियोनल मेस्सीको बिषयमा चर्चा झन् चुलिएको छ । उनी अहिले बार्सिलोना छोडेर पीएसजीमा अनुबन्धित भएका छन् । यसका लागि उनी पेरिस पुगिसकेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी का फरवार्ड मेस्सीले पीएसजीमा आबद्ध हुन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
उनले क्लबमा नेयमार र केलियन एमबाप्पेसँग खेल्न पाउँदा आफुलाई धेरै खुसी लागेको बताएका छन् । पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले यो कुरा बताएका हुन् । उनले बिश्वकै सर्वश्रेष्ठ दुई स्टार खेलाडी सँग एकै क्लबबाट खेल्न पाउदा अत्यन्तै खुसी लागेको बताएका छन् ।
उनले भने- नेयमार र एमबाप्पेसँग खेल्न पाउदा म धेरै खुसी छु । यो पागलपन हो र मलाई धेरै इर्ष्या लाग्यो । तर,म संसारकै सर्वश्रेष्ठ खेलाडीसँग खेल्दै छु । यो सधै राम्रो हुन्छ । लामो समय सम्म बार्सिलोनामा रहेर खेलेका ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।
पीएसजीले मेस्सीलाई सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।