काठमाडौँ ३ जेठ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नुपर्ने बताएका छन् ।
नेता रावलले आज सामाजिक सञ्जाल मार्फत यस्तो जनाएका हुन् । पार्टी एकताको लाति बनाइएको कार्यदलमा आफु लागि पर्ने बताएका रावलले भनेका छन् , कार्यदलमा पार्टीको एकता र हित एवं देशको हितका निम्ति पूरा प्रयास हुनेछ।
हिजो सोमबार मात्र कार्यदलका सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो जसमा माधव नेपाल समुहको तर्mबाट रावलको नेतृत्वमा पाँच जना र ओलीको तर्फबाट रामबहादुर थापाको नेतृत्वमा पाँच जना गरी जम्मा दश जनाको कार्यदल बनाइएको थियो ।
रावलले लेखेका छन् ,– ‘नेकपा एमालेको पुनर्जीवन पछि नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, विधान, नियमावली र संगठनात्मक प्रणाली अनुरूप २०७५ साल जेठ २ अघिको स्थितिमा एकताबद्धरूपमा अघि बढ्नु पर्छ भनि मैले गत फागुन २३ लगत्तै भनेको थिएँ। कार्यदलमा पार्टीको एकता र हित एवं देशको हितका निम्ति पूरा प्रयास हुनेछ।’